असोज ८ । काठमाडौँ, मक्कामदिनामा हज गर्न जाँदा बिहीबार भागदौडमा मृत्यु भएका ७ सय १७ तीर्थयात्रीमध्ये तीन जना नेपाली छन् । त्यस्तै सुनसरी घर भएका एक हजयात्रीको समेत बसेकै स्थानमा बिहीबार मध्याह्न मृत्यु भएको छ । मक्कामदिनाबाट केही किलोमिटर पूर्व मिना भन्ने स्थानमा बिहीबार बिहानै भागदौड हुँदा ठूलो संख्यामा तीर्थयात्रीले ज्यान गुमाएका हुन् । साउदी अरेबियाका लागि कार्यबाहक राजदूत आनन्द शर्माले टेलिफोनमा बताए अनुसार भाग दौडमा पर्साका जाकिर हुसैन, बाराका इजहार मियाँ र सुलेमानियाको मृत्यु भएको हो । शर्माले सुनसरी घर भएका मृतक नेपालीको भने पहिचान हुन नसकेको बताए । अर्का एक नेपाली हजयात्री भागदौडमा परि घाइते भएका छन् ।
गृहमन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिको संयोजनमा गत भदौ २२ देखि २९ गतेसम्म एक हजारजना भन्दा बढी नेपाली मुस्लिम हजयात्री मक्कामदिना गएका थिए । यसैबीच प्रधानमन्त्री कोइरालाले भागदौड हुँदा हजयात्रीको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै साउदी राजालाई सन्देश पठाएका छन् । समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।








