भदौ २७। काठमाडौँ, प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले असन्तुष्ट दलहरु वार्तामा नआएपछि संविधान लेखनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले असन्तुष्ट दलले वार्तामा बस्न कुनै चासो नदेखाएको भन्दै संविधान लेखनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । प्रमुख तीन दलले सीमाङ्कनको विषयलाई लिएर तराईमा आन्दोलनरत असन्तुष्ट दललाई वार्तामा बस्नका लागि संविधान लेखन प्रक्रिया दुई दिन स्थगन गरेका थिए ।
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेस केन्द्रित दलका नेता वार्तामा नआएकाले संविधान लेखनको प्रक्रिया अघि बढाउनुको विकल्प छैन भन्ने निष्कर्षमा काँग्रेस पुगेको बताए।
वार्ताका लागि दुई दिनको प्रतीक्षा गरे पनि असन्तुष्ट दलहरु नआएको बताउँदै उपसभापति पौडेलले भने – “देशलाई संविधान दिनुको विकल्प छैन, अब प्रक्रिया अघि बढ्छ ।”
जनताले जतिसक्यो छिटो संविधान चाहेको बताउँदै उनले सहमतिका लागि लचिलो भएर कुरा गर्दैै जाने र प्रक्रिया पनि सँगै अघि बढाउने निर्णय भएको जानकारी गराए । यसअघि आजै प्रमुख तीन दलको बैठक बस्ने भने पनि मधेस केन्द्रित दलसँग वार्ता नभएका कारण सो बैठकसमेत हुन सकेन ।
आजै प्रधानमन्त्री सुशील कोइरालालाई एकीकृत नेकपा माओवादीका तराई–मधेस केन्द्रित सभासद्हरुले भेटेर सरकारका तर्फबाट आन्दोलनमा दमन भएको गुनासो पोखेका थिए ।
त्यस्तै थरुहट प्रदेशका लागि आन्दोलनरत थारु प्रतिनिधिहरुले आजै प्रधानमन्त्री कोइरालालाई भेटेर वार्ताको वातावरण बनाउन आग्रह गरेका थिए । भेटपछि थारु नेता राजकुमार लेखीले यथास्थितिमा सत्तापक्षसँग कुनै वार्ता नहुने बताउँदै आन्दोलन जारी रहने सञ्चारकर्मीलाई जानकारी गराए ।








