पाँचजनाको सँगै शवयात्रा

jaleswor_lathi_rally_teraiवीरगन्ज, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच भएको झडपमा मृत्यु भएका पाँचजनाको शवयात्रा शनिबार निकालिएको छ ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जवाट सुरु भएको शवयात्रा घण्टाघर, इनरवाइपास, नगवा, नयाँ बसपार्क, लक्ष्मणवा चोक, गण्डक, पावरहाउस चोक, राधेमाई हुँदै नगरको विभिन्न भागको परिक्रमा गरेर तिलावे नदीमा पुगेर मृतकहरुको अन्त्येष्टि गरिएको थियो ।

शवयात्रामा मधेस केन्द्रित राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाजका अगुवा, उद्योगी व्यावसायीलगायत विभिन्न पेसाकर्मी र सर्वसाधारणको ठूलो सङ्ख्यामा सहभागिता रहेका छन् ।

शवयात्रा निकाल्न बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि स्थानीय प्रशासनले निषेधज्ञा फुकवा गरेको थियो ।

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा मृत्यु भएकालाई सहिद घोषणा र मृतकका आश्रित परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरेपछि आन्दोलनरत पक्ष र मृतकका परिवार अन्त्येष्टिका लागि सहमत भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार नेपालको संविधान २०७२ को मस्यौदामा प्रदेश विभाजन र सीमाङ्कनको विषयलाई लिएर मधेस केन्द्रित विभिन्न राजनीतिक दल र सङ्घसङ्गठनले आयोजना गरेको आम हडतालको समयमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच भदौ १४ र १५ वीरगन्ज नगरक्षेत्रको विभिन्न स्थानमा पटकपटकको झडपमा परी उनीहरुको मृत्यु भएको थियो ।

सम्बन्धित शिर्षकहरु