भदौ १४ । म्याग्दी, एक महिनाअघि म्याग्दीको मुदी र मुना गाविसमा गएको पहिरोमा परी ज्यान गुमाएकाको आफन्तलाई प्रवासीले करिब रु साढे दुई लाख सहयोग गरेका छन् ।
अष्ट्रेलियामा रहेका मुदीका युवा र म्याग्दी उद्धार समिति बहराइनले आइतबार रु दुई लाख ४८ हजार सहयोग गरेका हुन् । अष्ट्रेलियामा रहेका मुदीका मनमोहन घर्तीको नेतृत्वमा सङ्कलित रु एक लाख ४८ हजार र म्याग्दी उद्धार समिति बहराइनले उपलब्ध गराएको रु एक लाख सात जना मृतकका आफन्तलाई वितरण गरिएको हो ।
अष्ट्रेलियाबाट प्राप्त भएको सहयोग रकम सात जना मृतकका आफन्तलाई रु १९ हजारका दरले वितरण गरिएको प्रथम धौलागिरि युवा क्लब मुदीका अध्यक्ष खबिन घर्तीले बताए ।
यसैगरी बहराइनबाट पठाइएको रकम प्रतिव्यक्ति रु १३ हजारका दरले उपलब्ध गराइएको छ । मुदीको पहिरोमा भेडाबाख्राको क्षति भएर पीडित बनेकी मुदी–५ की सेती घर्तीलाई अष्टे«लियाबाट रु १५ हजार र बहराइनबाट पठाएको रु नौ हजार राहत सहयोग गरिएको छ ।
विसं २०७२ साउन १३ गते मुदी–५ नेरवाङको गाखर्कमा पहिरो जाँदा मुदीका दलदेवी पुन, तीर्थमान घर्ती, जिप्रसाद घर्ती, भीमबहादुर घर्ती, किसलाल पुन र हस्ता पुनको मृत्यु भएको थियो । यसैगरी मुना– ४ कुनौटाको पहिरोमा पुरिएर आठ वर्षीया मेलिना पुनको ज्यान गएको थियो।
गाखर्क पहिरोमा चार घरधुरी कृषकको २५० भेडाबाख्रा र ७५ वटा गाईगोरु पुरिँदा रु ५० लाख बराबरको क्षति भएको थियो ।







