सशस्त्रले खुट्टा कमाउँदा प्रहरी रमिते बन्न बाध्य
काठमाण्डौ, ‘ए किलो फाइभ, के– रे के– रे ? एकचोटि रिपिट गर त १’ टीकापुरस्थित इलाका प्रहरी कार्यालयअघिल्तिरको गोलघरमा बसेका एसएसपी लक्ष्मण न्यौपानेले यस्तो सोधेपछि इन्स्पेक्टर बलराम विष्ट दोहो¥याएर कराए, ‘च्याप्यो हजुर च्याप्यो, भीडले च्याप्यो, थप मद्दत, थप मद्दत…१’ अस्ति सात गते सोमबार अपराह्न थरुहट संघर्ष समितिका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच कैलालीको टीकापुरमा झडप हुँदाको वृत्तान्त हो यो ।
कस्तो दुःखको कुरा भने मद्दत माग्ने र मद्दत दिने दुबै हाकिम एकै ठाउँ बञ्चरो र भालाको आक्रमणबाट मारिए । विचराहरु ‘ऐय्या–आत्थु’ केही भन्नै नपाई रगत पिउने तानाशाही इदी अमिनले मान्छे सोतर पारेकै शैलीमा एकैचिहान भए । तीनजना इन्स्पेक्टरको कमाण्डअन्तर्गत तीन फरक फरक नाकामा ड्युटी लगाई इप्रका अगाडि कमाण्ड पोष्ट खडा गरेर बसेका थिए, लक्ष्मण न्यौपाने । प्रदर्शनकारीले निषेधित क्षेत्र नतोडुन् भन्नका लागि भएजतिका फौज ठाउँठाउँमा तैनाथ थिए ।
न्यौपानेसँग अञ्चल गुल्मका इन्स्पेक्टर केशब बोहराको कमाण्डमा थोरै फौज त थियो, तर कमाण्ड पोष्टका रुपमा बसेपछि त्यसकै सुरक्षाका लागि पनि त्यति जनशक्ति चाहिन्थ्यो । धनगढीस्थित जिप्रकाबाट टोली मगाऔं भने १ सय १४ किलोमिटरको दूरी छिचोल्नै दुई घण्टा लाग्ने । भीडले च्यापेर अर्को इन्स्पेक्टरलाई अप्ठेरै पारेपछि सँगै बसेका सशस्त्र एसपी लक्ष्मणबहादुर सिंहसँग उनकै गाडी चढेर टिकापुरको पश्चिमी नाकामा तैनाथ इन्स्पेक्टर बलराम भएतिर पुगे ।
उत्तरतिर तैनाथ किलो वन थ्री कलसाइन भएका इन्स्पेक्टर जगन्नाथ खनाल र उत्तर–दक्षिणतिरका किलो वन टु कलका एकीन्द्र खड्काको टोलीलाई पश्चिमतिर सामेल हुन आदेश दिए । अघि–अघि न्यौपाने पछि–पछि फौज दौडियो । भीडले सुरक्षाकर्मीलाई च्याप्यो भनिएको पश्चिमी नाकामा एसएसपीको टोली पुग्दा प्रदर्शनकारी पूर्व फर्किएका थिए ।
न्यौपाने पश्चिम फर्किएर प्रदर्शनकारी अगुवा फोरम सभासद् रामजनम चौधरीसँग भन्दै थिए, ‘यस्तो गरिदिन भएन हजुर १’ भन्दाभन्दै पछाडिबाट पिठ्युँमा बञ्चरो र भाला प्रहार भयो । उनी भुक्लुक्क ढले । उनलाई छोप्न खोज्दै थिए, इन्स्पेक्टर केशव बोहरा र बलराम विष्टले । तर, उनीहरु पनि बञ्चरोकै प्रहारमा ढालिए । प्रहरीहरु ढालिँदा सशस्त्र प्रहरीले थप मद्दत दिन्छ भन्ने न्यौपानेको आशा थियो । तर, जब भीडले प्रहरी टोलीलाई च्याप्न थाल्यो, न्यौपानेलाई त्यहाँबाट छाडेर सशस्त्र एसपी लक्ष्मण सिंह घटनास्थलबाट बाहिरिए ।
उनले थरुहट अगुवा रमेश चौधरीलाई साथमा लिएर गए । प्रहरी कमाण्डहरुहरु ढलेसँगै प्रदर्शनकारीले एसएसपीका बडीगार्डसँग रहेको अत्याधुनिक एसएलआर राइफल खोसे । एसएलआर नियन्त्रणमा लिएपछि भिड लम्कियो नजिकै साउद परिवारको घरतिर । सशस्त्रका जागिर खाने त्यो परिवारका वरिष्ठ हवल्दार ललित साउद प्रदर्शनकारीको पहिलो निशाना बने । उनीहरु अछामबाट बसाईं सरी त्यहाँ गएका हुन् र भीम रावलका आफन्त पनि ।
जेठा पूर्णबहादुर साउद सशस्त्रका डिएसपी हुन् भने कान्छा नेत्रबहादुर सशस्त्रकै हलव्दार र लेखा सहायक पनि । डेढ क्विन्टलका ललित सशस्त्रका घुमुवा हुन् ।
तीन दाजु भाईलाई एकैचिहान बनाउने गरी प्रदर्शनकारी त्यहाँ पुगेका थिए । तर, घरको बरण्डामा डिएसपी पूर्ण एक्लै थिए, भाइ नेत्रको छोरा खेलाउँदै । भीड देखेपछि उनी भागे, तर बालक मारिए ।
सशस्त्र–थरुहट कनेक्सन
सशस्त्र साथमा थिएन भने सायद एसएसपी न्यौपाने अर्को रणनीतिका साथ भिड नियन्त्रणमा जुट्थे वा अश्रुग्याँस र रबर बुलेटको सहाराले भीडलाई तितरबितर पार्थे । तर, सशस्त्रले आफ्नो गाडी चढाई–चढाई भीडको बीचमा लगेर छाड्ने र हमला भएपछि सर्लक्क पछाडि हट्ने कारण उच्च पदस्थ प्रहरी अधिकृतसहितका मारिए ।
भीडन्तमा घाइते भई हाल नेपालगञ्जमा उपचाररत एक सशस्त्र जवानले बयान दिइसकेका छन् । ‘झडप सुरु भएपछि हामीलाई विथ ड्र हौ फर्कनु भनेका थिए । सोहीअनुसार फर्कंदै थियौं ।’
शंकाको आधार
घटनालगत्तै प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतमसँग प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पड्किए । सशस्त्रको सुदूरपश्चिमस्थित बाहिनीपति खडानन्द चौधरीको भूमिकालाई लिएर । अर्यालको जिकिर थियो, प्रहरीमाथि जब घेराबन्दी शुरु भयो, सबै जनशक्ति तैनाथ हुँदा पनि भीड काबुभन्दा बाहिर गयो, ठीक त्यही बो खडानन्द सेटमा कराउँछन् र भएजति सशस्त्रलाई फिर्ता पठाउँछन् । यसको अर्थ के लाग्छ रु के यसलाई मामुली कुरा हो भन्ठान्नु भा छ…
चौधरी गच्छेदारकै गृहजिल्ला सुनसरीस्थित तनमुना भलुवा क्षेत्रका बासिन्दा हुन् । घटनास्थालमा रहेका अगुवा प्रदर्शनकारी रेशम चौधरीलाई प्रहरीले टार्गेट गरेको भन्दै सशस्त्र एसपी लक्ष्मण सिंहले आफूसँग लगे, अनि सेटबाट डिआइजी चौधरीलाई जानकारी लिए, रेशम सरलाई मैले ल्याएर आएँ हजुर १ त्यसपछि डिआइजीकै आदेशमा उनलाई सुरक्षासहित नेपालगन्ज पु¥याइयो ।
को हुन् रेशम ?
उच्चशिक्षा अध्ययनका क्रममा काठमाडौं बसुञ्जेल रेशम एमाले अखिलका कार्यकर्ता थिए, आरआर क्याम्पसमा अखिलकै प्यानबाट स्ववियु सदस्य बने । गीत गाउने, गीतमा संगीत भर्ने व्यक्ति पनि हुन्, साथै मार्सलआर्टका खेलाडी । एकताका गाइजात्रा र भैंसीजात्राका क्यासेट निकाल्थे । त्यति गर्दा पनि डिल्लीबजार, चारखालअगाडिको डेरामा भाडा तिर्न मुस्किल परेपछि जिल्ला फर्किए ।
उता गएपछि शाही शासनपक्षधर भए, एफएम स्टेशन पनि चलाए । फूलबारी एफएम हुँदै रेडियो कृष्णसार र भुरीगाउँमा अर्को एफएम स्टेशन सञ्चालन गरे । पहिलो संविधानसभामा एमालेविरुद्ध बागी उम्मेदवार बने, जमानत जोगाएनन् । ०७० मा फोरम नेपालका उम्मेदवार थिए । त्यसमा पनि जमानत गुमाए ।
हान्नेको पहिचान
एसएसपी न्यौपानेसहित दुई इन्स्पेक्टरलाई बञ्चरो र भाला प्रहार गर्ने व्यक्ति लगभग पहिचान भइसकेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । इप्रका लम्कीमा कार्यरत क्राइम स्पेसलिस्ट इन्स्पेक्टर अगन्नाथ खनाललाई अभियुक्त पहिचानको जिम्मेवारी दिइएको स्रोतले जनाएको छ । त्यहाँस्थित प्रहरी टोलीले हिजै दिउँसो हेडक्वार्टरलाई दिएको सूचना सस्तो छ– हिजो बिहान रेशम चौधरीको रिसोर्टमा आक्रमण हुनुअघि थरुहट संघर्ष समितिका अगुवाहरु कैलालीकै गिदिनियास्थित एमालेकी समानुपातिक सभासद् रवीना चौधरीको घरमा जुटेर केही छलफल गरेका छन् ।
छलफलमा प्रहरीका सुराकी पनि थिए । रवीना सुकुम्बासी हुन् र त्यहीँको सुकुम्बासी बस्तीमा बस्छिन् । हेडक्वार्टरले पाएको सूचनाअनुसार एसएसपी न्यौपानेलाई हान्ने व्यक्ति रामजनमको गाउँदेखि पूर्व र टीकापुरदेखि पश्चिमका चौधरीमध्येको हुनुपर्छ ।
कमजोर कमाण्ड
एसएसपीसहितका अफिसरहरुको ज्यान जाने गरी टीकापुरमा भएको घटनालाई लिएर हिजो मंगलबार सुदूरपश्चिम क्षेत्रका डिआइजी रामकुमार खनाल हेडक्वार्टर तानिएका छन् । हेडक्वार्टरको आरोप छ, प्रहरी कमाण्ड लाजै लाग्ने गरी कमजोर भयो । त्यतिमात्र होइन, रामकुमारमाथि अर्को गम्भीर आरोप छ, शैक्षिक योग्यताको प्रमाणपत्रसम्बन्धी । नयाँ नियमावली अनुसार पदोन्नतीका लागि प्रहरीले स्नातकोत्तर गरेमा दुई नम्बर थप पाउने व्यवस्थाअन्तर्गत उनले भारतबाट एसएस्सी पास गरेको प्रमाणपत्र पेश गरेका थिए ।
उनले पेश गरेको प्रमाणपत्रका आधारमा १० वर्षकै उमेरमा एसएलसी दिएको टहर्छ, जबकि डोसियर फाइलमा उनले पेश गरेको एसएलसी प्रमाणपत्रमा १६ वर्षकै उमेरमा उत्तीर्ण गरेको उल्लेख छ । सामान्यतया सुरक्षा निकायको प्राविधिकका रुपमा भर्ना भएका अफिसरलाई फिल्ड कमाण्ड गर्न दिइँदैन । तर संघीयताको मामिलामा कैलालीमा खेल्ने मधेशवादीहरुको योजनामै रहेर सशस्त्रले त्यहाँ प्राविधिक फाँटका एसपी खटाएको नेपाल प्रहरीले आरोप लगाएको छ ।
त्यहाँका सशस्त्र एसपी लक्ष्मण सिंह नेपाल प्रहरीमा कम्प्युटर अपरेटरका रुपमा ०५५ सालमा सईमा भर्ना भएका हुन् । उनलाई अहिले नेपाल प्रहरीकै कम्प्युटर शाखामा रहेका डिआइजी महेश कठायतले जागिर लगाइदिएका थिए । गत सातादेखि नै रामजनम चौधरीको घर आँगनमा सयौं जनालाई मासु खाना, रक्सी खुवाएर उत्तेजित बनाइएको अनुसन्धान अधिकृत बताउँछन् ।
घटनापछि सयौं जनाले सभासद् रामजनकै आँगनमा खाना आएका थिए भने एक हप्तादेखि नै हिन्दी भाषा बोल्ने भारतीयमूलककाले घैला बौनियामा थारु युवालाई प्रशिक्षण दिएको आरोप छ । कैलालीस्थित एमाओवादी थारु नेता पनि आन्दोलनमा खुलेर लागेका छन् तर उनीहरुले यस्तो अराजकता रामजनम, जनक, रोशन र रेशमले गराएको मौखिक रिपोर्ट केन्द्रलाई दिएको बताइएको छ । –जनआस्था








