भदौ ९ । काठमाडौँ, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुक संविधानसभाबाट संविधान जारी गर्ने महत्वपूर्ण, संवेदनशील र अन्तिम घडीमा रहेको बताएका छन् ।
नेपालको संविधानको परिमार्जित विधेयक २०७२, माथि संविधानसभामा आज भएको छलफलमा भाग लिँदै उनले भने, यो संविधानसभाबाट संविधान निर्माण गर्नुपर्छ भन्नेका लागि खुसी र गौरवको कुरा हो ।”
“संविधानसभाको बनोटबमोजिम हालको मस्यौदा तयार हुनुलाई ठूलो उपलब्धिका रुपमा मान्न सकिए पनि समावेशी र समानुपातिक प्रतिनिधित्वसहित आदिवासी, जनजाति लगायत पछि परेका समुदायको हकअधिकार सुनिश्चित गर्ने सम्बन्धमा भने केही धर्मराएको छ”– अध्यक्ष दाहालले भने ।
संविधान लेखन प्रक्रिया अन्तिम चरणमा रहेको बेला आफ्ना हकअधिकार स्थापित हुँदैन कि भन्ने असन्तुष्टि आएका आवाज उठ्नुलाई स्वभाविक हो भन्दै उनले सामन्तवादबाट पुँजीवादतर्फ जाने लोकतान्त्रिक विधिअनुरुप संविधानसभाबाट संविधान निर्माण हुन लागेको उल्लेख गरे ।
अध्यक्ष दाहालले भने–“सबैको भावनालाई सम्बोधन गर्ने ढङ्गबाट जुन किसिमले अघि जानुपर्दथ्यो, त्यो कहीँ कहीँ धर्मराएको छ, यद्यपि संविधानसभाको बनोटअनुरुप आउन सक्ने दस्तावेज भने यही नै हो ।”
एउटा युगबाट अर्को युगमा प्रवेश गर्दा ठूलो छाती बनाएर जानुपर्ने आवश्यकतामा मस्यौदा कहीँ न कहीँ सङ्कुचन र खुम्चेको बताउँदै उाले संविधान लेखन प्रक्रिया अहिले इतिहासको पेचिलो मोडमा रहेकाले नेपाली जनता अहिले छिटो सङ्घीय लोकतान्त्रिक संविधानको घोषणा होस् भन्ने पक्षमा रहेको धारणा राखे ।
संविधानसभाबाट यो मस्यौदामा पाउनु भनेको गर्व गर्नुपर्ने अवस्था रहेको छ, यो विधेयकले प्रगतिशील कुरा उठाएको बताउँदै अध्यक्ष दाहालले भने–“सङ्घीय समाजवादी मोर्चालगायतका मधेसवादी दल र अरू पक्षलाई संविधान लेखनको प्रक्रियाबाट नबाहिरन, वार्तामा आउन, समस्या समाधानमा योगदान पु¥याउन म आग्रह गर्दछु ।”








