साउन ९ । काठमाडौँ, काठमाडौँको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा स्थानीयवासी वर्षामा आवतजावतको समस्यामा पर्न थालेका छन् ।
गोकर्णेश्वर–४, नयाँपाटीबाट कागेश्वरी मनोहरा–४ भद्रवास जोड्ने पुल निर्माण नभएको र अस्थायी पुल वर्षाको भेलले बगाएपछि स्थानीय पारि जान लामो बाटो घुम्नुपर्ने समस्यामा परेका हुन् । वाग्मती नदी हिउँदमा सजिलै तर्न सकिने भए पनि वर्षामा सकिँदैन ।
अस्थायी पुल बाढीले लगेको र पक्की पुल निर्माण आरम्भ भएको चार वर्षमा चार पटक म्याद थपिँदा पनिसम्पन्न नभएपछि स्थानीयवासी मर्कामा परेको बिपी सङ्ग्रहालय भद्रवास सहिद आदर्श क्याम्पस सडक पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष केशवप्रसाद पुडासैनीले जानकारी दिए।
वारि गाउँका मानिसको खेत पारि गाउँमा र पारि गाउँका मानिसको खेतबारी गाउँमा छ । “हामी चार हातको पुल नहुँदा सुन्दरीजल वा जोरपाटी घुमेर खेतमा जानुपर्ने बाध्यतामा पुगेका छौँ, खेतबाट घर पाल्तु जनावरलाई घाँसपात ल्याउन पनि समस्या परेको छ”– स्थानीयवासी कृष्णप्रसाद पुडासैनीले गुनासो गरे ।
पुलको अभावले सहिद आदर्श क्याम्पसमा अध्ययनरत विद्यार्थीसमेत प्रभावित भएका छन् । सामुदायिक क्याम्पसमा पढ्ने सुन्दरीजल भेगका विद्यार्थीसमेत घुमेर क्याम्पस जानुपर्ने बाध्यतामा छन् । “घर नजिकै वाग्मती पारिको क्याम्पसमा भर्ना भइयो, वर्षामा क्याम्पस जान नसकिने भयो, समयमै पुल निर्माण सम्पन्न भएको भए हामी क्याम्पस जान नपाउने अवस्थामा पुग्ने थिएनौँ”– विद्यार्थी तीर्थ स्याङ्बोले भने।
मिचिको एन्ड कम्पनी नामक ठेकेदार कम्पनीलाई विसं २०६८ मा काम सुरु गर्ने गरी ठेक्का दिइएको थियो । कम्पनीले ढिला गरी २०६९ फागुन ११ गते मात्र काम सुरु गरेको थियो । विसं २०६८ मै पुल निर्माण सुरु गरी २०६९ मङ्सिर मसान्तमा सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता भएकामा थपिएको चौथो म्याद विसं २०७२ असार ३० गतेसम्म तोकिए पनि काम नगरी ठेकेदार सम्पर्कमा नआएको अध्यक्ष पुडासैनीले बताए ।
रु एक करोड ५१ लाखमा विसं २०६८ मा पुलको ठेक्का सम्झौता भएको थियो । “सडक विभागले असार ३० गते अब काम नसक्दा रु सात लाख जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ, ठेकेदार कम्पनीले ६० प्रतिशत काम सम्पन्न गरी ४० प्रतिशत काम झुलाएर राखेको छ– उनले भने ।








