जनताका उपयुक्त सुझाव समेटेर संविधान जारी हुन्छःओली

kpसाउन ७ । पोखरा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका उपयुक्त सुझावलाई समेटेर नयाँ संविधान जारी गरिने बताएका छन् ।

एमाले कास्कीको प्रतिनिधि परिषदको प्रथम बैठकलाई पोखरामा सम्बोधन गर्दै नेता ओलीले जनताबाट आएका सुझावलाई संविधानमा समावेश गरिँदैन कि भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरे। उनले नयाँ संविधान कुनै दलविशेषका नेतालाई नभई देश र जनतालाई चाहिएको हो भने।

संविधान जारी भएपछि संविधानसभा भने कायम नरहने जिकिर गर्दै उनले त्यसपछि काम संविधानमा उल्लेख भएबमोजिमका नियम र विधिअनुसार हुँदै जाने बताए ।

उनले भने“अहिले नै प्रदेशको नामाङ्कन र सीमाङ्कन टुङ्ग्याउनतिर लाग्ने हो भने फेरि पनि संविधान नबन्न सक्छ, त्यसैले यी विवादको टुङ्गो सङ्घीय आयोगले लगाउने छ र संविधानमा समावेश गरिन्छ । ” संविधान जारी भएपपछि नयाँ सरकार गठन हुने र सोको ध्यान भूकम्पबाट क्षतविक्षत भएको मुलुुकको पुनःनिर्माणमा केन्द्रित हुने अध्यक्ष ओलीको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले कसैको बुई चढेर असफल बनाउने प्रयास गरे पनि अब संविधान निर्माणको काममा कसैले अवरोध गर्न सक्दैन भने। उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन संसद्मा प्रस्ताव दर्ता गरिएको तथा स्वास्थ्य बिमा र जनसङ्ख्या ऐन ल्याइसकिएको जानकारी दिए।

कार्यक्रममा पार्टी निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी, लेखा परीक्षण आयोगका अध्यक्ष पुष्प कँडेल र उपाध्यक्ष मनबहादुर गुरुङलेलगायतले धारणा राखेका थिए। सो अवसरमा विभिन्न दल परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु