साउन ३ । काठमाडौँ, हाम्रा जन्म र मृत्यु संस्कारमा समयसापेक्ष रूपान्तरण आवश्यक भएकामा जोड दिइएको छ ।
साहित्य सन्ध्याको ३५१ औँ कार्यक्रमअन्तर्गत शनिबार आयोजित ‘मृत्यु संस्कार र रूपान्तरण’ शीर्षकको परिचर्चामा साहित्यकार मोदनाथ प्रश्रितले अहिले हाम्रो समाजमा विद्यमान शास्त्रअनुकूल हुने गरी तथ्यसहित काजक्रियालाई सात वा पाँच दिनमा सम्पन्न गर्ने प्रस्तावित विचार अगाडि सारिएको बताए ।
“समयको मागअनुसार अनि शास्त्रसम्मत नै हुने गरी समाजमा विद्यमान परम्परालाई जबर्जस्ती नगरी सबै विज्ञसँग र समाजसँगै छलफल तथा बहस गरी सहमतिकै आधारमा संस्कारमा रूपान्तरण आवश्यक छ ”उनले भने ।
सो अवसरमा रमेश गौतम पाल्पालीद्वारा लिखित उपन्यास ‘सहारा’को लोकार्पण गरिएको थियो । लोकार्पित कृतिमाथि डा खेम कोइराला ‘बन्धु’ले समीक्षा गर्दै कृतिमा स्वदेशदेखि विदेशसम्मका आफूले देखेका वृद्धवृद्धाको पीडालाई जीवन्त रूपमा उजागर गरेको बताए ।
गोष्ठीमा जगन्नाथ आचार्य, पूर्ण विराम, अतृप्त पाण्डेय, रमेश पोखरेल, मुकुन्दप्रसाद न्यौपाने, प्रेम सिलवाल, कृष्णदेव रिमाल, विधान आचार्य, जयन्ती स्पन्दन, उमेश उपाध्याय, कमला देवकोटा, कल्पना काफ्ले, सानु पहाडी, पुण्य गौतम ‘विश्वास’, इन्दु अंशु,रूपक अलङ्कार, बालकवि पुष्कल किरण, उर्मिला पन्त पाण्डेय, सुदेश सत्याललगायत ३० जनाले आआफ्ना कविता, गीत, गजल वाचन गरेका थिए।
वाचित सिर्जनामाथि टिप्पणी गर्दै समीक्षक सोमनाथ दाहालले केही कवितामा आध्यात्मिक प्रभाव रहे पनि प्रायः कवितामा आशावादी जीवन दृष्टि सम्प्रेषण भएको बताए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा डा जीवेन्द्रदेव गिरीले अब नवनिर्माणका साहित्य लेखिनुपर्छ भन्दै समाजमा विद्यमान गारासाँघुरा संस्कारगत कुरालाई छोट्याउने, घटाउने वा रूपान्तरण गर्ने कार्य गरिनुपर्ने बताए।
सन्ध्याका अध्यक्ष राम विनयले साहित्य सन्ध्या सामाजिक सांस्कृतिक रूपान्तरणको अभियान चलाइ रहेको संस्था भएकाले यसले समग्र प्रगतिशील साहित्यको अध्ययन र उत्थानको पाटोलाई कुनै न कुनै कोणबाट विश्लेषण गरिरहेको जानकारी दिए ।








