साउन १ । काठमाडौँ, नेपाल विद्यार्थीे संघका अध्यक्ष एवं सभाषद रञ्जीत कर्णमाथि गत मंगलबार बिहान आक्रमण भयो । उनलाई हाडीगाउँस्थित निवासबाट बाहिरिने क्रममा कालोमोसो मात्रै दलिएन, जुत्ताको माला समेत लगाइयो । घटनापछि नेपाल विद्यार्थी संघको छवि मात्रै धुमिलिएन विपीको सिद्धान्तमा चल्ने संगठनको बिग्रेको चाला पनि छरपष्ट भयो । रञ्जित कर्णलाई कालोमोसो दलिएको घटनाको सर्वत्र विरोध भइरहेको छ । घटनामा कांग्रेस केन्द्रीय सदस्य गगन थापा र नेविसंघकै पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेको संलग्नता रहेको आरोप अध्यक्ष कर्णले लगाएका छन् । काफ्लेसहित ११ जनाविरुद्ध त उनले किटानी जाहेरी नै दिइसकेका छन् । घटनाको ५ दिन बितिसक्दा प्रहरीले किटानी जाहेरीमा नाम उल्लेख भएका मध्ये भूपेन्द्र श्रेष्ठलाई मात्रै पक्राउ गरेको छ । घटनापछि यसबारेमा अनेकन टिका टिप्पणी भइरहेका छन् ।
कालोमोसो प्रकरणको उद्गम कर्ण आफैं
२०६८ साल माघमा नेपाली कांग्रेसले नेविसंघ अध्यक्षको जिम्मेवारी दिदा कर्णसामु ६ महिनाभित्र महाधिवेशन गराउनुपर्ने जिम्मेवारी थियो । नेविसंघ अध्यक्ष भएको ठीक ३ वर्ष ५ महिना र १ साता पुगिसक्दा पनि कर्णले नेविसंघको महाधिवेशन गराउन सकेनन् । आधा दर्जन भन्दा बढी पटक महाधिवेशनको मिति तय गरेर स्थगन गर्दा पनि कर्ण पुरस्कारको भागिदार नै भए । संविधानसभाको दोस्रो निर्वाचनपछि कांग्रेसले उनलाई समानुपातिकबाट सभाषद बनायो । कर्ण पुरस्कृत भएको कुरालाई नेविसंघ र नेपाली कांग्रेसमा निकै आलोचनाका साथ टिका टिप्पणी गरिएको थियो । पार्टीमा रहेका धेरै सिनियर युवा नेताहरुलाई पन्छ्याएर सभाषद बन्न कर्ण सफल भएका थिए । मधेशी हुनुको मात्रै नभएर सभाषद नदिए मधेशी पार्टीमा जाने धम्की समेत दिएका कारण कर्ण सभाषद बन्न सफल भएका थिए । महाधिवेशनको पक्षमा रहेका र पार्टीभित्र संस्थागत प्रणालीको पक्षमा रहेकाहरु पार्टी नेतृत्वसंग मात्रै रुष्ट थिएनन् रञ्जितको विपक्षमा पनि थिए ।
आर्थिक अनियमितताको संगीन आरोप
कालोमोसो प्रकरणभन्दा पहिल्यै नै कर्णमाथि आर्थिक अनियमितताको आरोप लाग्दै आएको थियो । महाधिवेशन उद्घाटनको अघिल्लो दिन महाधिवेशन स्थगन हुनुअघि कर्ण र उनका कार्यकर्ताहरुले चन्दा आतंक नै मच्चाएका थिए । अहिले पनि कर्णसंग अधिकाशं कार्यकर्ताहरुले महाधिवेशनमा उठाएको चन्दाको हिसाब किताब माग्ने गरेका छन् । त्यसबाहेक भर्ना, छात्रवृत्ति, सम्बन्धन लगायतका विषयमा पनि कर्णले अनियमितता गरेको र आफू निकटकाहरुलाई नेविसंघ ‘मागी खाने भाडो’ का रुपमा प्रयोग गर्न दिएको आरोप लाग्दैछ ।
अंग्रेजी कलेजको नाम, गोजीमा लाखौं दाम
नेविसंघ अध्यक्ष भएपछि महाधिवेशन गर्न कुनै ध्यान नदिएपनि कर्णले आफै नेतृत्व गरेर अंग्रेजी नाम भएका कलेजहरु तोडफोड गरेका थिए । नेपाली नाम राख्नुपर्ने भनेर उनले अंग्रेजी नाम भएका कलेज तोडफोड गरेर सहमतिका नाममा लाखौं रुपैयाँ कुम्ल्याएका थिए । रकममा कुरा मिलेपछि आन्दोलन यथास्थितिमा रोकिएको थियो ।
नगद साथमा, चिठी हातमा
नेविसंघ अध्यक्ष रञ्जित कर्णलाई लागेको अर्को आरोप ईकाई अध्यक्ष, जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य पदको व्यापार । विवाद नै नभएका कलेज र जिल्लामा पनि उनले चिठी थमाउदै अध्यक्षको कार्यभार सुम्पने गरेका थिए । त्यस्तो काम नगद कारोबारपछि मात्रै गर्ने गरेको जानकारहरु बताउँछन् । स्रोतका अनुसार कर्णले प्रत्येक ईकाई अध्यक्षका लागि ५० हजार, जिल्ला अध्यक्षका लागि १ लाख र केन्द्रीय सदस्यका लागि ३ लाख रुपैया नगद लिने गरेका थिए । पछिल्लो समय केन्द्रीय सदस्य मनोनित गणेशदत्त शर्मा लगायतले रञ्जित संग मोटै रकम र रक्सीको कारोबार गरेको बताइन्छ ।
कसले दल्यो कालोमोसो ?
कर्णले आफूमाथिको आक्रमणमा गगन थापा र कुन्दन काफ्लेको संलग्नता रहेको बताएपनि नेपाल ईन्जिनियरिङ क्याम्पस भक्तपुरका विद्यार्थीहरुले आफैले कर्णलाई कालोमोसो दलेको स्वीकार गरिसकेका छन् । भक्तपुरको रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गरेर कर्णको ज्यादती र अनियमितता सहन नसकेर कारवाही गरेको सोही क्याम्पसका नेविसंघका नेताहरुले बताइसकेका छन् । घटनाको समयमा काफ्ले आफ्नै निवासमा थिए ।
घटनाको मूल कारण यस्तो छ
नेपाल ईन्जिनियरिङ क्याम्पसमा २०७० साल बैशाखमा कांग्रेस संगठन विभाग प्रमुख आनन्द ढुंगाना प्रमुख अतिथि र कर्ण स्वयं विशिष्ट अतिथि भएको अधिवेशनबाट खगेन्द्र कार्की सो क्याम्पसको नेविसंघ अध्यक्षमा निर्वाचित भएका थिए । मतदानमा कार्कीले ४७ भोट ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी बिजय बरालले २७ भोट पाएका थिए । अध्यक्षमै उठेका समशेर थापाले ८ र रामकृष्ण पाण्डेले १२ मत पाएका थिए । आफ्नै सामुन्नेमा निर्वाचनबाट बनेको कार्यसमिति कर्णले ८ महिना नबित्दै भंग गर्ने प्रयास गरे । अधिवेशनको निर्णय लत्याएर कर्णको निर्देशनमा केन्द्रीय सदस्य राजन सिलवालले योगेन्द्र बमलाई अध्यक्षको चिठि दिएपछि विवाद चुलियो । कार्की नेतृत्वकै नेविसंघ क्रियाशी हुदै आएपछि गत असार १८ गते कर्णले पुनः भुवन भट्टलाई अध्यक्षको चिठि दिए । त्यसयता कार्कीको पक्षमा रहेका नेविसंघका नेता कार्यकर्ताहरुले कर्णलाई गल्ती सच्याउन माग गरेका थिए । कर्णसहित केन्द्रीय सदस्य उत्तम मिश्रले पनि चिठी केही दिनमै फिर्ता लिने आश्वासन दिएपनि पछिल्लो समय कर्ण सम्पर्कविहीन भए । आफूहरुको फोन पनि नउठाएको र निवासमा पुग्दा दुव्र्यवहार गरेका कारण कालोमोसो दलेर जुत्ताको माला लगाइदिएको नेपाल ईन्जिनियरिङ क्याम्पसका नेविसंघ नेताहरुले बताइसकेका छन् ।
कालोमोसो पछि पनि कालै काम
कर्णलाई कालोमोसो दलिएको घटनाको सर्वत्र विरोध भइरहेको छ । नेविसंघका पूर्व अध्यक्षहरुसहित सबैजसो नेताले कर्णमाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीलाई कारवाही गर्न माग गरेका छन् । यद्यपि घटनाको केही घण्टामै आफ्नै पार्टी र संगठनका नेताहरुको नाम मुछेर वक्तव्यबाजी गरेकोमा भने कर्ण आलोचित बनेका छन् । नेविसंघ राजनीतिको पृष्ठभूमीमा फरक गुटको प्रतिनिधी भएकै कारणले कर्णले गगन थापा र कुन्दन काफ्लेलाई आरोप लगाएका थिए । घटनाको पर्याप्त छानबिन नगरी आफ्नै संगठनका नेतालाई रञ्जितले आरोप लगाउनलाई राजनीतिक प्रतिशोधका रुपमा लिइएको छ । कर्णले काफ्लेका विरुद्ध त किटानी जाहेरी नै दिएका छन् । अधिकांश कांग्रेसका नेता तथा कार्यकर्ताहरुले बिना छानबिन आफ्नै नेताहरुलाई आरोप लगाएर कर्णले अराजनीति काम गरेको आरोप लगाएका छन् ।
आरोपित काफ्लेको प्रतिक्रिया
कालोमोसो प्रकरणमा आफूलाई आरोप लागेपछि नेविसंघका पूर्व कोषाध्यक्ष समेत रहेका कुन्दन काफ्लेले विज्ञप्ती जारी गरेर आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको आरोप लगाएका छन् । नेविसंघभित्र लामो समयदेखि कर्ण र काफले पक्षका बीचमा मतभेद रहेको छ । अधिकांश क्याम्पसमा टिके कमिटि बनाउन चाहेका कर्णलाई काफ्लेले सधै वैधानिक अधिवेशनको पक्षमा उभिन आग्रह गर्दै आएका छन् । केही समयअघि एड्भान्स ईन्जिनियरिङ कलेजमा अधिवेशनको माग गर्दा कर्ण पक्षका कार्यकर्ताहरुले काफ्लेलाई मरणासन्न हुने गरी कुटेका थिए ।
नेविसंघ भित्रको राजनीतिमा आफ्नो प्रभाव बढेको देखेर प्रहार गरिएको काफलेको दावी छ । ‘नेविसंघको महाधिवेशन गराउन दवाव दिने, संस्थागत र पारदर्शी संगठनको पक्षपोषण गर्ने गरेका कारण नेविसंघको ठूलो तप्का मेरो पछाडि छ । त्यही तप्कालाई बिच्काउन कर्णले अराजनीतिक हतकण्डा अपनाए ।’, काफ्लेले भने ।
कांग्रेसले के गर्दैछ ?
यो घटनापछि नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेविसंघका केही पूर्व अध्यक्षहरुसंग परामर्श गरेका थिए । त्यसक्रममा कोइरालाले कालोमोसो दलिनु गलत भएपनि पार्टीकै बदनामी बढाएको भन्दै कर्णलाई आफ्नै कार्यकर्ताहरुविरुद्धको उजुरी फिर्ता लिन निर्देशन दिने तयारी गर्दैछन् । त्यस्तै घटनाको विषयमा पार्टी तहमै छानबिन समिति गठन गरी आवश्यक परे नेविसंघ भंग गर्ने सम्मको तयारीमा शीर्ष नेताहरु रहेको बताइन्छ ।







