नेविसङ्घले सवा दुई लाखमा बनायो कीर्तिपुर माविको भवन

nsuअसार २० । काठमाडौँ,  नेपाल विद्यार्थी सङ्घले कीर्तिपुरस्थित कीर्तिपुर माध्यमिक विद्यालयको चारकोठे अस्थायी भवन रु दुई लाख २५ हजारको लागतमा निर्माण सम्पन्न गरेको छ ।

सङ्घका केन्द्रीय अध्यक्ष सभासद् आर्किटेक्चर इन्जिनियर रञ्जित कर्णको डिजाइनमा सो भवन निर्माण गरिएको संयोजक मोती भण्डारीले जानकारी दिए।

भूकम्पले सामुदायिक रुपमा सञ्चालन गरिएको यो विद्यालयको भवन पूर्ण रुपले क्षति भएपछि विद्यार्थी पढाउन समस्या भएको थियो । विद्यार्थीको पढ्न पाउने अधिकार हनन् हुने देखेपछि आर्थिक सहयोग जुटाएर विद्यालय भवन निर्माण गरिएको संयोजक भण्डारीले बताए।

नवनिर्मित भवनको एउटा कक्षा कोठामा ३५ जना विद्यार्थी बस्न सक्नेछन् । हाल विद्यालयमा २५० विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका प्रधानाध्यापक बद्री खनाल भवन निर्माण गरिदिएर नेविसङ्घले गुन लगाएको बताउँछन् । “विद्यालयको कोषमा तत्काल भवन बनाउने बजेट थिएन, जिल्ला शिक्षा कार्यालयबाट बजेट आएर भवन बनाई अहिले कक्षा सञ्चालन गर्न सक्ने अवस्था पनि थिएन, यस्तो अवस्थामा नेविसङ्घले चारकोठे भवन बनाएर विद्यालयमा अध्ययन अध्यापन नियमित बनाउने वातावरण बनाइदिएको छ” – प्रधानाध्यापक खनालले भने।

भवन हस्तान्तरण नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाबाट गराउने पहल भइरहेको नेविसङ्घले जनाएको छ । भवन निर्माणका सामग्री खरिद गरी डकर्मी र सिकर्मीलगायतका काम नेविसङ्घका कार्यकर्ताबाट जनश्रमदान गराई जुटाइएको थियो ।

अध्यक्ष कर्ण एसिया च्यारिटेबलले मञ्चन नेपालमार्फत नेविसङ्घले निर्माण गर्ने गरी त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च मावि भवन निर्माणका लागि रु १५ लाख सहयोग प्राप्त भएको बताउँछन् । “विश्व निकेतनको भवन बनाउन स्वयम्सेवक परिचालन गरेर विद्यालय भवन निर्माण कार्य सुरु गरिएको छ” – उनले भने ।

सङ्घले सहयोग जुटाइ जस्तापाता खरिद गरेर विद्यालय भवन भत्किएका गुल्मीका १२ वटा सामुदायिक विद्यालयमा पठाइएको केन्द्रीय सदस्यसमेत रहनुभएका भण्डारीले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु