असार १९ ।काठमाडौँ, एकीकृत नेकपा माओवादी, संसदीय दलको बैठकमा सभासद्ले सधैँ सम्झौता मात्रै गर्ने प्रवृत्तिको अन्त्य गरी विगतमा पार्टीले उठाएका कार्यसूचीलाई संस्थागत गर्न पार्टी नेतृत्वलाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको संसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश सभासद्ले पार्टी नेतृत्व सम्झौतावादमा फसेको र विगतमा जनताका सामु गरिएको प्रतिबद्धता भुल्दै गएको भनी आपत्ति प्रकट गरेका थिए ।
बैठकमा एमाओवादीका सभासद्ले प्रमुख राजनीतिक दलका बीचमा भएको १६ बुँदे सहमतिले विगतका सहमति तथा सम्झौतालाई खारेज गरेको र परिवर्तनका कार्यसूचीलाई अस्वीकार गरेकामा नेतृत्वले जवाफ दिनुपर्ने धारणा राखेका थिए ।
यस्तै सरकारले आव २०७२÷७३ को बजेटमा जनताका कार्यसूचीलाई धेरैभन्दा धेरै समावेश गरिनुपर्नेमा जोड दिएको सभासद् रुपा महर्जनले जानकारी दिए । बैठकमा संसदीय दलका उपनेता टोपबहादुर रायमाझी तथा सभासद् शक्तिबहादुर बस्नेत, जनकराज जोशी, रेखा शर्मा, टेकबहादुर बस्नेतलगायतले आफ्नो धारणा राखेको सभासद् दलजित विके श्रीपालीले जानकारी दिए ।








