‘प्रारम्भिक मस्यौदाले जगायो संविधान निर्माण आधार’

NepaleseConstitution-Nepal24Hrsअसार १७  । काठमाडौँ, आठ वर्षको लामो प्रयासपछि मुलुकको भाग्य र भविष्यको फैसला गर्ने मूल कानुन संविधानको पहिलो मस्यौदा संविधानसभामा प्रस्तुतिपछि संविधान निर्माणको आधार तयार भएको छ ।

ढिलै भए पनि संविधानको प्रारम्भिक मस्यौदा आउनु सकारात्मक भएको र त्यसले संविधान लेखनको औपचारिक प्रक्रिया सुरु भएकाले जनतामा आशाको सञ्चार जगाएको संवैधानिक कानुनका जानकारहरूले बताएका छन् ।

संविधानको प्रारम्भिक मस्यौदाले संविधान लेखनको ढोका खुलेकाले त्यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् संवैधानिक कानुनका जानकार भीमार्जुन आचार्य । उनलाई प्रस्तुत मस्यौदा लामो भएकाले कार्यान्वयनमा कठिनाइ होला भन्ने लाग्छ ।

संवैधानिक कानुनका अर्का जानकार डा विपिन अधिकारी संविधानको मस्यौदा आउनु उत्साहप्रद भएको र त्यसले एकीकृत रुपमा धेरै विषय समेटेको प्रतिक्रिया दिए ।

वरिष्ठ अधिवक्ता हरिहर दाहालले संविधानको पहिलो मस्यौदाले जनतालाई जगाएको र अब संविधान आउने दरिलो आधार तयार भएको बताए  । उनले मस्यौदाका अधिकांश पक्ष राम्रा भए पनि प्रस्तावनामै संसदीय लोकतन्त्रलाई असंशोधनीय उल्लेख गरिएको भए संसदीय लोकतन्त्रको स्थायित्वका लागि दह्रो आधार हुन्थ्यो भने।

नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले मस्यौदामा गरिएको न्यायपालिकासम्बन्धी प्रावधानलाई केही परिमार्जन गर्नुपर्ने देखिएकाले त्यसमा बारले छलफल गरी चाँडै आफ्नो अवधारणा सार्वजनिक गर्ने बताए।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले संविधानको मस्यौदाले नेपाली जनताको दशकौँदेखिको लोकतान्त्रिक संविधान पाउने आकाङ्क्षा पूरा हुने सङ्केत गरेको बताए। संविधान जारी भएपछि त्यसको कार्यान्वयनमा नेतृत्व पङ्तिले गम्भीर भएर लाग्नुपर्ने आवश्यकता पनि उनले औँल्याए ।

त्यस्तै बारका पूर्व महासचिव रमण श्रेष्ठले संविधानको मस्यौदाले नेपालीलाई उत्साहित तुल्याएको प्रतिक्रिया दिनुभयो । “जसरी पनि नेपाली जनतालाई एक थान संविधान चाहिएको छ” – संविधानको अपरिहार्यतामा जोड दिँदै उनले भने ।

संविधानसभामा प्रस्तुत नेपालको संविधान, २०७२ को मस्यौदामा ३७ भाग, २९६ धारा र सात अनुसूची छन् ।

सम्बन्धित शिर्षकहरु