असार १३ । काठमाडौँ, भूमाफियाले बालुवा तस्करी गरेर सामुदायिक वनको जग्गा मास्न खोजेपछि उपभोक्ता समूहका पदाधिकारी एवम् सदस्य वृक्षारोपणमा सक्रिय भएका छन् ।
काठमाडौँको पूर्वी भेगस्थित कागेश्वरी मनहरा नगरपालिका–९ मूलपानीमा रहेको चखण्डोल सामुदायिक वनको १२० रोपनी जग्गामा विभिन्न जातका तीन हजार ५०० विरुवा रोपण सुरु गरिएको हो ।
वृक्षारोपणको सुरुवात गर्दै पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वातावरण संरक्षणका लागि सकारात्मक काम भएको बताए।
“भूमाफियाले आँखा लगाएको सार्वजनिक जमिनमा वृक्षारोपण गरेर सामुदायिक वनले राम्रो काम गरेको छ, यस्ता काममा दल, सामाजिक कार्यकर्ता र सर्वसाधारण सबैको सहभागिता रहनुपर्छ”–नेता नेपालले भने।
कार्यक्रममा सभासद् दीपकप्रसाद कुइँकेल र रामेश्वर फुयाँलले सार्वजनिक जमिनको संरक्षणका लागि वृक्षारोपणलाई अनिवार्य गर्न सकिए वातावरणीय सन्तुलन कायम हुनुका साथै सार्वजनिक जमिनको संरक्षण हुनेमा जोड दिएका थिए ।
सो अवसरमा राष्ट्रिय सहिद तथा शान्ति स्मारकका अध्यक्ष सुदर्शन सिग्देल र सामुदायिक वनका अध्यक्ष राजेश कट्टेललगायत समूहका पदाधिकारी एवम् सदस्यले एक हजार ७०० लप्सी, आँप, लहरे पीपल, पैयुँ र उत्तीस जातका विरुवा रोपेका थिए ।
बाँकी एक हजार ८०० विरुवा रोप्ने काम सोमबार गरिने सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ ।







