आगामी चार जुलाईको दिन गैर आवासयीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन हुँदैछ । अष्ट्रेलिया एनआरएनको आगामी नेतृत्वका लागि दर्जन बढी उम्मेदवारहरू मैदानमा प्रतिष्पर्धीको रूपमा देखा परेका छन् । यसक्रममा अष्ट्रेलिया एनआरएनका सदस्यका प्रत्यासी छवी सापकोटाले युवाहरूका सवालमा केही भिन्न धारणा राखेका छन्ः
एनआरएन अष्ट्रेलियामा मेरो आवद्धताः
२००७ देखि नै निरन्तर एनआरएन अष्ट्रेलियामा लागेर विभिन्न गतिविधि गर्दै आएको छु । यहाँका विभिन्न सामाजिक संघ संस्थाहरूमा पनि उत्तिकै क्रियाशील रहँदै भूमिका निर्वाह गर्दै आइरहेको छु । नेपाली समूदायले गरेका कार्यक्रममा होस् या यहाँको एनआरएन भित्रका कामहरूमा होस् सवैमा उत्तिकै तदारूकताका साथ लागिरहेको छु । त्यसैगरी मातृभुमीका लागि पनि केही रचनात्मक कामहरू गरिरहेको छु । यहाँबाट केही सहयोग जुटाएर त्यहाँका विभिन्न ठाउँमा विभिन्न परियोजनारू सञ्चालमा ल्याएको छु ।
यसकारण मलाई भोटदिनुहोस्ः
एनआरएन भित्र राजनीति हावी हुन थालेको छ । पछिल्लो समय संघमा राजनीतिले पश्रय पायो भनेर गुनासो गर्नेहरू पनि उल्लेख्य हुनुहुन्छ । त्यसकारण म एनआरएन बाहिर जुनसुकै राजनीतिक आस्था भएपनि भित्र त्यो ल्याउनु हुँदैन भन्ने विचार राख्छु । एनआरएनलाई विशुद्ध सामाजिक संस्थाको रूपमा विकास गरिनु पर्दछ । त्यस्तै मेरा अर्को योजना एनआरएनमा युवाहरूको मुद्धालाई स्थापित गर्ने हो । उनीहरूको संलग्नता र सहभागितामा बृद्धि गर्ने हो । यहाँ ६० हजार नेपाली युवाहरू हुनुहुन्छ । उहाँहरूको विश्वास बढाउने काम गर्नु पर्दछ । ती युवाहरूको नेतृत्व विकास र क्षमता विकासका लािग परिचालनमा आवश्यक जोड दिइनु पर्दछ ।
यसैगरी भूकम्पबाट नेपाल क्षत विक्षत बन्न पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त बन्न पुगेका संरचनाहरूको पुनःनिर्माण आजको आवश्यकता हो । त्यसको लागि एनआरएनले एकीकृत योजना निर्माण गरी अघि बढ्नु पर्दछ । त्यस्तै नेपाली समूदायको अभिभावकीय भूमिका पनि एनआरएनले खेल्नु सक्नु पर्दछ ।








