असार ७। एजेन्सी, गैर आवासीय नेपाली सङ्घ मलेसियाले त्यहाँस्थित नेपाली दूतावासलाई तोकिएको भन्दा बढी रकम तिरेर फर्किनुपरेपछि नेपाली मारमा परिरहेका जनाएको छ ।
सङ्घले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी मलेसियामा रोजगारीका क्रममा दुःख पाएकालाई कम्पनीले राहदानी फिर्ता नदिने भएकाले नेपाली दूतावासमा निश्चित् रकम बुझाएर नेपाल फर्कने व्यवस्था भए पनि दूतावासले तोकिए भन्दा बढी रकम लिने गरेको गुनासो गरेको छ । कामदारले दूतावासमा १६० मलेसियन रुपैँया बुझाएर ‘ट्राभल डकुमेन्ट’ बनाउने र त्यहाँको अध्यागमनलगायतमा ९०० मलेसियन रुपैँया खर्च गरी एक हजार ६० मलेसियन रुपैँयामा नेपाल फर्कन पाउने व्यवस्था छ ।
विगत ६ महिनादेखि त्यहाँको निजी कम्पनी ‘कोप्रासी इमिग्रेसन एटिएन बिएचडी’लाई एक हजार २८० मलेसियन रुपैँया बुझाएपछि मात्र दूतावासले ट्राभल डकुमेन्ट बनाइदिने भएका कारण कूल एक हजार ४४० रुपैँया तिर्न कामदार बाध्य हुने गरेको सङ्घका महासचिव सुनिल चालिसेले बताए । पछिल्लो ६ महिनाको तथ्याङ्कअनुसार ४० हजार नेपालीबाट सो प्रक्रियामार्फत् ३६ करोड नेपाली रुपैँया ठगिएको उनले दाबी गरे । गत वैशाख १२ गतेको भूकम्पपछि सो प्रक्रियाका लागि ५० मलेसियन रुपैँया थप गरिएको थियो ।
यस्तै एमआरपी पासपोर्टको फारम भर्न फोटो र फारम भराईका लागि सङ्घलाई जिम्मा दिने हो भने आठ मलेसियन रुपैँयामै गर्ने भने पनि दूतावासले कमिसनको लोभमा निजी एजेन्टमार्फत् ४० मलेसियन रुपैँयामा सो काम लगाइरहेको महासचिव चालिसेले आरोप लगाए। मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्नेतसँग पटक–पटक यस विषयमा छलफल गरे पनि उनले आफू बरु नेपाल फर्कन तयार रहेको तर यो परियोजना नछाड्ने जवाफ दिएको महासचिव चालिसेले बताए ।
दूतावासले १३ अप्रिल २०१५ मा सूचना प्रकाशित गरी अवैधानिक नेपालीलाई आफू नेपाली भएको प्रमाणसहित यात्रा अनुमति पत्रका लागि आवेदन दिन ‘कोप्रासी’ कम्पनीबाट रकम तिरेको रसिद लिएर आउन भनेको थियो । त्यसो नगरेसम्म यात्रा अनुमति पत्रको निवेदन नबुझ्ने समेत उक्त सूचनामा उल्लेख गरिएको थियो ।
उनले भने–“यसअघि नेपाली दूतावासकै भवनमा निजी कम्पनीको कार्यालय राखिएको र त्यहीँबाटै सम्पूर्ण काम हुने गरेको थियो । अहिले अर्कै ठाउँमा दूतावासको भवन सारिएको छ ।” मलेसियामा रहेका नेपाली र उनीहरुको समस्या समाधानका लागि भूमिका खेल्न स्थापना भएको दूतावासले गरेको यस्तो ठगिप्रति सरकारको ध्यानाकर्षण होस् र निष्पक्ष छानबीन हुनुपर्ने उनले माग गरे ।
मलेसियामा नौ लाख नेपाली कामदार छन् ।








