असार ७। काठमाडौँ,नेपालको पुनःनिर्माणका लागि आगामी बिहीबार राजधानीमा हुने दाता सम्मेलनमा भाग लिन एसिया–प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घका उप महासचिव हाओलिङ सु सोमबार राजधानी काठमाडौँ आइपुगेका छन् ।
चारदिने भ्रमणका क्रममा उनले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको निरीक्षण गर्नुका साथै स्थानीय अधिकारी, समुदायका सदस्य, मानवीय सहायताकर्मी र राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको युएनडिपीले जनाएको छ ।
भूकम्पबाट अधिक प्रभावित तथा जोखिममा परेका निर्धन वर्गको सहायतामा विशेष ध्यान दिन, पुनःनिर्माणका काम र भूकम्पअघिकै अवस्थामा जनजीवनलाई अग्रसर गराउने दीर्घकालीन मार्ग अवलम्बनमा राष्ट्रसङ्घको मद्दतको पुनःप्रतिबद्धता उपमहासचिव हाओलिङले व्यक्त गर्ने युएनडिपीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
“पुनःनिर्माणका सबै क्षेत्रका आवश्यकता सम्बोधन गर्ने वित्तीय पद्धति तथा स्थापना र कार्यान्वयनमा नेपाल सरकारसँग युएनडिपीले निरन्तर समन्वय गरेर काम गर्नेछ,” उपमहासचिव हाओलिङले भनेका छन् ।








