सिन्धुपाल्चोक, गएको वैशाख १२ गतेको भूकम्प र त्यसयताको पराकम्पबाट सर्वाधिक क्षति व्यहोरेको सिन्धुपाल्चोक विस्तारै तंग्रिँन थालेको छ । विद्यालयहरू पूर्ववत् अवस्थामा सञ्चालन हुन थालेका छन् भने प्रकोपको पीडामा रूमलिएका सिन्धुवासी आ–आफ्नो दैनिकीमा फर्कन थालेका छन् । विपत्तिको झण्डै दुई महिना पनि जिल्लाको उत्तरपश्चिमी क्षेत्र थाङपालधाम पुग्दा त्यहाँको पीडितहरू खेतमा काम गर्दै गरेको भेटिए । त्यसो त वर्षा लागिसकेकाले उनीहरू खेत खन्दै र धान रोप्दै गरेको भेटिनु अनौठो होइन । तर, विपद्ले थिलो पारेको उनीहरू यत्ति सजिलै आफ्नो दैनिकीमा फर्कनु भने सामान्य मान्न सकिँदैन ।
विपत्ति लगत्तै सिन्धुपाल्चोकमा पाइला राख्ने जो कोही सोच्थ्यो, ‘सिन्धुपाल्चोक अब छिट्टै उठ्ला र १’ तर दुई महिना वित्न नपाउँदै भूकम्पबाट तहसनहस बनेको सिन्धुपाल्चोक विस्तारै उठ्ने जमर्को गर्दैछ । पीडितहरू आफ्नो पीडालाई एकातिर पन्छाएर सामान्य जीवनमा फकिन थालेका छन् । भत्किएका घरहरू पन्छाएर धेरै मध्येले अस्थायी टहरा निर्माण गरिसकेका छन् । स्कूलहरूपनि अस्थायी शिक्षण केन्द्र मार्फत सञ्चालनमा आउन थालेका छन् ।
यसक्रममा थाङपालधापको वडा नं. ५ मा रहेको भूमेश्वरी प्राथमिक विद्यालय पुनःनिर्माण गरी शनिबार त्यहाँका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरियो । पत्रकार तथा अभियन्ता रामनाथ खनाल र सुमन भट्टराईको पहलमा सो विद्यालय सञ्चालनमा ल्याइएको थियो । विद्यालय पुनःनिर्माणका लागि विजेश्वरी युवा क्लव, काठमाडौँले आर्थिक सहयोग प्रदान गरेको हो । त्यस्तै विद्यार्थीहरूका लागि राजधानीकै रूओन नेपालले शैक्षिक सामग्रीहरू उपलव्ध गराएको थियो ।
विद्यालय पुनःनिर्माण पछि बोल्दै पत्रकार खनालले विपद्बाट आहात बनेको सिन्धुपाल्चोक पुनःनिर्माणमा आफू दिलो ज्यान दिएर लागि गरेको बताए । ‘भूकम्पबाट बँचेका हामी सबै अव पुनःनिर्माणमा कसिनु पर्दछ’ उनले भने ‘हामी सवै एकताबद्ध भयौँ भने विपद् व्यवस्थापन हुन्छ ।’ त्यस्तै अर्का अभियन्ता सुमन भट्टराईले पनि विद्यालय पुनःनिर्माण समाजकै दायित्व भएको बताए । ‘हामी सवैका छोराछोरी पढ्छन्’ उनले भने ‘त्यसकारण हामी सवै मिलेर विद्यालय निर्माण गर्नु पर्दछ ।’
यसैगरी विजेश्वरी युवा क्लवका रवी थापाले पनि युवाहरूको सक्रियताबाट आफू प्रभावित भएर विद्यालय निर्माणमा लागि परेको धारणा राखे । ‘युवाहरूको पुनःनिर्माण प्रतिको लगाव देखेर हामी राजधानीबाट यत्ति टाढा आएर सघायौँ’, उनले भने ‘हामी सवै मिले भत्किएका संरचना उठ्न सक्छन् भन्ने उदाहरण हो यो ।’
यस्तै एडेक नेपालका प्रकाश अधिकारीले पनि विपद्को यस घडीमा कसैले हाँत बाँधेर बस्न नहुने धारणा राखे । ‘भत्किका संरचना पुनःनिर्माण हामी सवैको दायित्व हो’ उनले भने ‘सवैले आफ्नो ठाउँबाट ईमान्दार प्रयत्न गर्ने हो भने भत्किएका घरहरू ठडिन्छन् ।’
सोही गाविसका विपन्न १५ घर परिवारका लागि एडेक नेपालले जनही पाँच हजार नगद सहयोग उपलव्ध गराएको थियो ।
विद्यालय पुनःनिर्माणका लागि संयोजन गरेका स्थानीय नारायण भट्टराईले सबैको सहयोगमा विद्यालय तयार भएको बताउँदै आफूहरू यसैगरी भत्किएका घरहरू पुनःनिर्माणमा लागि परेको धारणा राखे । ‘त्यसको सुरूवात हामीले विद्यालयबाट गरेका छौँ’ उनको भनाई थियो ।
सिन्धुपाल्चोकमा उद्धार र राहत पछि विद्यालय पुनःनिर्माणमा जुटेका खनाल र भट्टराईका पहलमा जिल्लामा आठ भन्दा बढी विद्यालय पुनःनिर्माण भइसकेको छ ।
भूकम्पका कारण थाङपालधाप गविसमा एक सय १७ जनाले ज्यान गुमाएका थिए । सय जना भन्दा बढी घाइते भएको थाङपालधाप अहिले तन्दुरूस्त बन्ने प्रक्रियामा लागेको छ । त्यसका लागि आरसो नेपाल लगायतका सामाजिक संघ संस्थाहरूले होस्टेमा हैँसे गरिरहेका छन् । मेलम्चीबाट १५ किमीको दूरीमा रहेको थाङपालधाप विपद्पछि विस्तारै मुस्कुराउने क्रममा छ ।








