असार २ । काठमाडौँ, अर्थमन्त्री डा रामशरण महतले बजेटको स्रोत जुटाउन समस्या नभएपनि कार्यान्वयनमा समस्या रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “आर्थिक वर्ष समाप्त हुन लाग्दा अधिकाशं मन्त्रालयका विकास बजेट पचास प्रतिशत पनि खर्च हुन सकेका छैनन्, जुन दुःखद् कुaरा हो ।”
विपी चिन्तन प्रतिष्ठान र मानवतावादी समाज (सोच) नेपालद्वारा संयुक्तरुपमा विनाशकारी भूकम्पपछि नव निर्माणसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री डा महतले विकास आयोजनाका लागि बजेटको अभाव हुन्न काम गरेर देखाउनुहोस् भन्दा पनि मन्त्रालयहरुले बजेट खर्च गर्न नसकेको गुनासो गर्दै प्रशासनिक तहबाट यस्तो प्रवृत्ति अन्त्य हुनु जरुरी छ भन्नुभयो ।
उहाँले विनाशकारी भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माण तथा पुनः स्थापनाका लागि विदेशी सहयोग जुटाउन नै असार १० गते दाता सम्मेलन आयोजना गर्न लागिएको स्पष्ट पार्नु भयो ।
अर्थमन्त्री डा महतले दाता सम्मेलनका लागि आवश्यक तयारी सरकारका तर्फबाट पुरा भइसकेको बताउदै विपद् व्यवस्थापनका लागि अधिकार सम्पन्न निकाय छिट्टै गठन हुन लागेको जानकारी दिनुभयो । उहाँले दाता सम्मेलनपछि नै बजेट आउने जानकारी दिनुभयो ।
पूर्वअर्थमन्त्री वर्षमान पुनले नव निर्माणका लागि सवै राजनीतिक दलहरु एकभई जुट्नु पर्ने आवश्यकता औँल्याउनु भयो ।
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. डा रामप्रसाद ज्ञवालीले आगामी बजेटमा करको दायरा बढाउनु हुँदैन भन्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष हरिवोल भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष पुष्प पराजुली र सदस्य ध्रुवबहादुर पाण्डेले भूकम्पको क्षति भएको संरचनाको पुन निर्माणका लागि सुरु गर्न ढिलाई गर्न नहुने धारणा राख्नुभयो ।








