क्षति दुरुस्त गर्न दीर्घकालीन सहयोग अपरिहार्यः विश्व बैंक

 असार  १ । काठमाWorld-Bank-logoडौँ, विश्व बैंकले भूकम्पबाट नेपालको अर्थतन्त्रमा भएको क्षति दुरुस्त तुल्याउन तथा थप नेपालीलाई गरिबीको दुष्चक्रमा फस्नबाट जोगाउन दीर्घकालीन सहयोग अपरिहार्य भएको बताएको छ ।

नेपाल सरकारले घोषणा गरेको विपद्पछिका आवश्यकताको मूल्याङ्कन पिडिएनए का प्रमुख परिणामप्रति प्रतिक्रिया जनाउँदै उक्त बैंकले अर्थतन्त्रलाई भूकम्पअघिको अवस्थामा फर्काउन अन्तर्राष्ट्रिय जगत्बाट ठूलो सहयोग हुनुपर्ने आवश्यकता औँल्याएको हो ।

विश्व बैंकले आज एक वक्तव्य जारी गरी अर्थतन्त्रमा भएको क्षतिलाई पूर्ववत् अवस्थामा फर्काउन दिगो वित्तीय सहयोग, प्रभावकारी पुनःप्राप्ति कार्यक्रम र सहयोगका निम्ति छटपटाएका वर्गलाई मद्दत गर्न यही असार १० गते आयोजना हुने दातृ सम्मेलनले दीर्घकालीन सहायता र भारी रकम उपलब्ध गराउनुपर्ने जनाएको छ ।

“भैँचालोले नेपालको अर्थतन्त्रमा बृहत् क्षति भएको छ, गरिबीबाट पार पाउन नेपालले हासिल गरेको प्रभावकारी उपलब्धि जोगाउने चुनौतीको निर्णायक ढङ्गले सम्बोधन गर्र्नुपर्छ” – दक्षिण एसियाका लागि बैंकका उपाध्यक्ष एन्नेट डिक्सनले वक्तव्यमा भन्नुभएको छ ।

यसैगरी, नेपालका लागि बैंकका निर्देशक जोआनेस जाटले पिडिएनएबाट पुनःनिर्माण महँगो र लामो समय लिने देखिएको बताउँदै अधिकभन्दा अधिक रकम सङ्कलन गर्न सबैभन्दा पहिले रकम खर्च गर्ने प्रष्ट योजना हुनुपर्नेमा जोड दिनुभएको छ ।

भूकम्पबाट सर्वाधिक प्रभावित भएकाहरूको लाभका खातिर पारदर्शिताका साथ भरपर्दो र जवाफदेही पुनर्लाभ कार्यक्रम कार्यान्वयन गर्न बैंकले नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर काम गरिरहेको उहाँले वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

नेपालका लागि बैंकका देशीय प्रबन्धक ताकुया कामाताले निर्धन ग्रामीण क्षेत्रमा आवासको पुनःनिर्माणमा वित्तीय सहयोगका साथै बजेट र वित्तीय क्षेत्र सहायता समेटिएको विस्तृत ‘प्याकेज’ घोषणाको तयारीमा बैंक रहेको बताउनुभएको छ । विस्तृत सहायता प्याकेजको घोषणा बैंक सञ्चालक समितिबाट शीघ्र हुने पनि उहाँले स्पष्ट गर्नुभएको छ ।

सम्बन्धित शिर्षकहरु