जेठ २६ । काठमाडौँ, ३० दलीय मोर्चाको सहमति नलिइ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले कांग्रेस–एमालेसँग सम्झौता गरेको भन्दै विपक्षी २८ दलले विरोध गरेका छन ।
एमाओवादी र फोरम लोकतान्त्रिक बाहेक २८ दलको बैठक मंगलबार सिंहदरबारमा बोलाइएको छ । बैठकले आगामी रणनीति तयार गर्ने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
‘बीचमा असमझदारी बनेपछि मोर्चाबाट निर्णय गरेर बैठकमा प्रतिनिधि पठाउने कुरा भएको थियो । सोमबारको बैठकमा मोर्चाको तर्फबाट प्रतिनिधि गएका छैनन’ कर्णले भने ‘प्रचण्डले एमाओवादीका अध्यक्षको हैसियतमा र गच्छदारले फोरम लोकतान्त्रिकका अध्यक्षको हैसियतमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन । त्यो हामीहरुलाई मान्य छैन । त्यस्तो सहमति हामी अस्वीकार गर्छौ ।’
तराई मधेस लोकतान्त्रिक पार्टीको संसदीय दलको कार्यालय सिंहरदबारमा बिहान ११ बजेपछि बस्ने २८ दलको बैठकमा ‘२८ दलीयय मोर्चा’ बनाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन । उच्च स्रोतका अनुसार अब २८ दलीय मोर्चाको नेतृत्व तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकूरले गर्नेछन ।








