अर्थ समितिद्वारा प्रतिवेदन तयार पार्न र कार्यान्वयनका लागि सरकारलाई निर्देशन

जेठ  २४ । काठमाडौँ,व्यवस्थापिका–संसद् मातहतको अर्थ समितिले भूकम्पबाट भएको क्षति र पुनःनिर्माणका लागि आवश्यकताको मूल्याङ्कनसम्बन्धी प्रतिवेदन पिडिएनए यथाशीघ्र तयार पार्न र कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

विपद्पछिको आवश्यक तयारी र पुनःनिर्माणका लागि ठोस कार्ययोजना बनाउन सो प्रतिवेदन आवश्यक रहेको भए पनि त्यसतर्फ सरकारले विशेष ध्यान नदिएको भन्ने गुनासो सांसदहरुले गरेपछि समितिले सो निर्देशन दिएको हो ।

यस्तै सरकारले आगामी असारमा आयोजना गर्न लागेको दाता सम्मेलनको आवश्यक तयारी गर्न र भूकम्पपछिको पुनःनिर्माणका कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउनसमेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ । भूकम्पपछिको नवनिर्माणमा अन्तर्राष्ट्रिय समुदायबाट महत्वपूर्ण सहयोग प्राप्त हुने गरी दाता सम्मेलनलाई उपलब्धिमूलक बनाउन, त्यसको सम्पूर्ण तयारी गर्न र कुनै पनि कमी तथा कमजोरी हुन नदिन आग्रह गरिएको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

यस्तै समितिले विपद्को समयमा अनावश्यक विदेश भ्रमण, सरकारी साधन, स्रोतहरुको प्रयोग, भोजभतेरजस्ता फजुल खर्च नियन्त्रण गर्न सरकारलाई विशेष रुपमा सचेत गराएको छ । सो सम्बन्धमा समितिको पूर्व निर्णय कार्यान्वयन नभएकाले उक्त निर्णय किन कार्यान्वयन नभएको हो त्यसबारेमा समेत जानकारी गराउन निर्देश गरेको छ ।

समितिको आजको बैठकमा अर्थमन्त्री डा रामशरण महतले दाता सम्मेलन र पुनःनिर्माणको सम्बन्धमा सरकारले गरिरहेको आवश्यक तयारीका बारेमा जानकारी गराउनुभएको थियो । सरकार तत्कालका लागि राहत वितरण कार्यमा नै केन्द्रित रहेको भन्दै उहाँले पुनःनिर्माणलाई वर्षाअगावै तत्कालीन र वर्षापछि दीर्घकालीन रुपमा अगाडि बढाउने योजनामा सरकार रहेको बताउनुभयो ।

उहाँले राहत वितरणमा समस्या नआओस् भनेर विशेष सतर्कता अपनाइएको समेत जानकारी दिनुभयो । बैठकमा सांसदहरुले राहत वितरण प्रभावकारी नभएको, सुगम स्थानमा मात्रै राहत वितरण भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

सम्बन्धित शिर्षकहरु