जेठ २३ । काठमाडौँ, विपद् व्यवस्थापन गर्न सरकार गम्भीर हुन नसक्दा भूकम्पपीडितले समयमै उद्धार र राहत पाउन नसकेकोे आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् ।
नेकपा एमाले निकट बुद्धिजीवी परिषद् मोरङले आज विराटनगरमा आयोजना गरेको ‘नेपालको वर्तमान विपद् व्यवस्थापन तथा संविधान निर्माणका चुनौती’ विषयक विचार गोष्ठीमा बुद्धिजीवी राजेन्द्र सुवेदीले राहत वितरणमा पक्षपात हुनु दुःखको कुरा हो भन्नुभयो ।
अधिवक्ता लीलाबल्लभ अधिकारीले सरकारले चुस्त व्यवस्थापन गर्न नसकेकै कारण राहत वितरणमा समस्या भएको बताउनुभयो ।
नेपाल शिक्षक सङ्गठनका भीमबहादुर बस्नेतले स्थानीय निकायको निर्वाचन नहुँदा पनि सहजरुपमा विपद् व्यवस्थापन हुन नसकेको धारणा राख्नुभयो ।
बुद्धिजीवी परिषद्का अध्यक्ष डा उद्धव पोखरेलले विपद् नेपालमा स्थायी जस्तै भएकाले विपद् व्यवस्थापनका लागि अविलम्ब छुट्टै मन्त्रालय बनाइनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अधिवक्ता पेशलकुमार न्यौपानेले प्रस्तुत गर्नुभएको वर्तमान मुलुकको विपद् व्यवस्थापन र संविधान निर्माणका चुनौती विषयक कार्यपत्रमाथि छलफल भएको थियो ।








