जेठ, १६ । काठमाडौँ, वैसाख १२ गते शनिबार । बिदाको दिन डयुटीका सेनाबाहेक अधिकांश अनौपचारिक सादा पोसाकमा थिए । ब्यारेकसँगै जोडिएका घरहरूमा नौ जवानका परिवारसमेत बसेका थिए । तासका पत्ती ढलेझैं वरिपरिका सबै घर गल्र्यामगुर्लुम ढले । जताततै धुलो उड्न थाल्यो । ग्यास पड्किएर, तेल सल्किएर जहीँतहीँ आगो लाग्न थाल्यो । महाभूकम्पको एक मिनेट नबित्दै पहाडको यो सुन्दर बजार मेलम्चीको जमिन–आकास कुइरीमण्डल धुँवाले भरिइसकेको थियो ।
भीमकाली गुल्मका लेसनायक पुष्प बस्नेत चेकपोष्टमा तैनाथ थिए । जब आफ्नै अगाडि आफ्नो परिवारसमेत बसेको घर लडेको देखे, तुरुन्तै ढले ।
ढलिसकेको घरबाट एक–एक गर्दै सबै परिवार जीवितै निकाल्न सफल भए भीमकाली गुल्मका गुल्मपति हमाल, लेफ्टिनेन्ट हुमानसिं कुँवर र तैनाथ जवानहरूले । यो सबै काम पाँच मिनेटभित्र सफल भएको थियो । देख्नेहरू भन्छन्, घर यस्तरी ढलेको थियो, एक मिनेटमात्रै अरू ढिला भएको भए कोही पनि बाँच्दैनथ्यो ।
सेनाको चेन अफ् कमान्ड कस्तो हुन्छ भने, गुल्मबाट बाहिनीमा । बाहिनीबाट पृतनामा । पृतनाबाट हेडक्वार्टरमा । यो सिद्धान्त कडाइका साथ पछयाइन्छ । तर विपत्ति आउँदा ‘चेन अफ् कमान्ड’ को बाटो पछयाएर आउँदैन । उसमाथि भुइँचालोले अधिकांश सञ्चार सम्पर्क विच्छेद गरिदियो । यस्तोमा अन्तरआत्माको चेन अफ् कमान्ड पछयाउनुको विकल्प हुँदैनथ्यो ।यो समाचार कान्तिपुर दैनिकमा छ ।







