जेठ १६ ।काठमाडौँ, मधेसी मोर्चा र प्रमुख तीन दलबीच राष्ट्रिय सहमतिको सरकार गठनबारे औपचारिक छलफल प्रारम्भ भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवास आज साँझ भएको मोर्चा र तीन दलका शीर्षनेता सम्मिलित बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका साथै भूकम्पबाट सिर्जित महाविपत्तिको व्यवस्थापनका निम्ति त्यस्तो सरकार गठनको आवश्यकता औँल्याइएको थियो ।
वर्तमान सरकारलाई विस्तार गरेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने वा नयाँ नेतृत्वमा त्यस्तो सरकार बनाउने भन्ने बारेमा बैठकमा सहभागी नेताले स्पष्ट गर्न अस्वीकार गर्नुभयो ।
करिब दुई घन्टा भएको उक्त बैठकमा संविधान लेखनका बाँकी कामलाई टुङ्गोमा पु¥याउने र राष्ट्रिय एकतासहितको राष्ट्रिय सरकार गठनमा केन्द्रित रहेर छलफल भएको थियो ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भूकम्पबाट पैदा भएको महाविपत्तिको व्यवस्थापन गर्न सहमतिको राष्ट्रिय सरकार बनाउने विषयमा बैठकमा गहन विचारविमर्श भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले अघिल्लो संविधानसभाबाट संविधान जारी गर्न सकेनौँ र वर्तमान संविधानसभाले पनि अहिलेसम्म संविधानको पूर्ण खाका तयार गर्न सकेन, भूकम्पबाट सिर्जना भएको विपत्ति र राजनीतिक सङ्कट सामना गर्न राष्ट्रिय सरकार बनाउने विषयमा छलफल भएको हो ।” राजनीतिक सङ्कट समाधान र सहमतिको आधारमा संविधान घोषणा गर्नेमा छलफल केन्द्रित रहेको अध्यक्ष गच्छदारले बताउनुभयो ।
बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र अध्यक्ष गच्छदार सहभागी हुनुहुन्थ्यो ।








