जेठ १४ । म्याग्दी, राम्चे–९ काफलडाँडा नजिकैको पहाडबाट खसेको भीषण पहिराले राम्चेको फेदी र भगवती–२ बैसरी बस्ती पुरिँदा रु चार करोड बढीको भौतिक क्षति भएको छ ।
बैंसरीमा पहिराबाट विस्थापित बनेकाको बसाइँ व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयले लगत सङ्कलन गर्नेक्रममा रु चार करोड २२ लाख ८० हजारको क्षति भएको पाइएको हो । प्रारम्भिक लगत सङ्कलनका क्रममा घर, नगद, जिन्सी, पशु चौपायालगायत गरी उक्त क्षति भएको विवरण सङ्कलन भएको प्रहरी नायब निरीक्षक हिराबहादुर थापाले जानकारी दिनुभयो ।
त्यस्तै त्यहाँ रहेका दुई झोलुङ्गे पुलसमेत पहिराले पूर्ण रुपमा क्षतिग्रस्त तथा १४३ जना विस्थापित भएको प्रहरी कार्यालयले जनाएको छ । विस्थापित परिवारका सदस्यको सङ्ख्या, अन्यत्र घरजग्गा भए÷नभएको लगायत प्रारम्भिक विवरण सङ्कलन भएकाले पीडितलाई पुनःस्थापना गर्नका लागि समेत सहयोग पु¥याइने प्रहरी नायब उपरीक्षक हिरा गिरीले बताउनुभयो ।
राम्चे–९ काफलडाँडा नजिकैको पहाडबाट खसेको पहिराले राम्चेको फेदी र भगवती–२ बैसरी बस्ती पूरै पुरिँदा त्यहाँका २७ घरपरिवार अहिले घरबारविहीन भएका छन् । चट्टानी पहाड खसेर गएको सुक्खा पहिराले भीषण रुप लिँदा बस्तीमाथि पहिरो थोपरिएको छ । त्यहाँ पुनः बस्ती बसाउन सक्ने सम्भावना नभएपछि उनीहरुलाई अहिले बंैसरी नजिकै पिप्ले गाविसमा पर्ने सार्वजनिक जग्गामा अस्थायी रुपमा पुनर्वास गराइएको छ ।








