मन्त्री कृपासुरले दलित महिलामाथि यौन शोषण गरेको आरोप

kripashur-sherpa-Sex-abuseजेठ ११ । काठमाडौं, एमाले सभासद कृपासुर शेर्पा यतिबेला नयाँ मन्त्रालय सम्हालेको खुशियालीमा छन् । उनलाई धेरैले बधाइ पनि दिइरहेका छन् । तर, मन्त्री शेर्पा टेलिभिजनको पर्दामा छाइरहँदा उनीबाट यौन शोषणमा परेको दाबी गर्ने एक दलित महिला भने कृपासुरले छोराको नागरिकता नबनाइदिएको भन्दै चिन्तामा डुबेकी छिन् ।‘म मन्त्री कृपासुर शेर्पाको छोरो हुँ, ताप्लेजुङको फुङलिङ निवासी मेरी आमा धनमाया दर्नाललाई गर्भवती बनाएर उनी ताप्लेजुङबाट हिँडेपछि म ०३७ साल मंसिर २ गते जन्मेको हुँ,’ ताप्लेजुङ निवासी गणेश शेर्पाले अनलाइनखबरसँग भने- ‘मेरो अहिलेसम्म नागरिकता बनेको छैन, बाबु राष्ट्रको मन्त्री बनेका छन् ।’

आफ्ना पिता मन्त्री बनेको भन्दै गणेशले अब आफूलाई छोराका रुपमा स्वीकार गरेर नागरिकता बनाइदिन र आमामाथि न्याय गर्न आग्रह गरे ।

‘गणेशले अनलाइनखबरसँग भने – हेर्दै थाहा हुन्छ, कृपासुर र मेरो अनुहार पनि ठ्याक्कै मिल्छ । तर, बुबाले आमा र ममाथि गरेको अन्याय सम्झेर रुन मन लाग्छ ।’

आफूहरुलाई आफन्तले पनि नहेरेको र बाबुले पनि वास्ता नगरेको उनले दुखेसो गरे । आमाले जीवनभरि अरु कसैसँग विवाह नगरी छोरो हुर्काएर एक्लै बसिरहेको गणेशले बताए ।

म ठूलो भएपछि आमालाई काठमाडौं लिएर आएँ,’ गणेश भन्छन्- अहिले आमा काठमाडौंमै हुनुहुन्छ, मचाँहि नुवाकोटमा भूकम्प पीडितहरुको टहरा बनाउन आएको छु ।’

धनमाया यतिबेला निकै वृद्ध र कमजोर देखिन्छिन् । तस्वीरमा मातातीर्थ औंसीका दिन धनमायाले आफ्नो छोरालाई टीका लगाएर आशिर्वाद दिँदै गरेको देखेँ सकिन्छ ।

त्यसो त कृपासुरलाई पनि बुढ्यौलीले छोइसकेको छ । उनी ६४ वर्ष पुगेका छन् । तर, धनमायाभन्दा उनी निकै तन्दुरुस्त देखिन्छन् ।

खरदार हुँदा धनमायासँग सम्बन्ध

गणेशको दाबीअनुसार कृपासुर ताप्लेजुङमा खरदार पदमा हुँदा धनमायासँग उनको सम्बन्ध बढेको हो । त्यही क्रममा धनमाया ०३६ सालमा गर्भवती भइन्, जसबाट गणेश जन्मिए ।

तर, कृपासुरले दलित समुदायकी धनमायालाई श्रीमतीका रुपमा स्वीकार गर्नुको साटो जिल्ला नै छाडेर हिँडेको गणेशको दाबी छ ।

सरकारी जागिर छाडेपछि कृपासुर ठूलो नेता बने । सभासद बने । र, अहिले मन्त्रीसमेत बने ।

तर, उनी ठूलो मान्छे बनिसक्दा पनि एक दलित महिलाले भने न्याय पाउनु त परैजाओस्, छोराको नागरिकतासमेत बनाउन नसकेको गणेशले अनलाइनखबरलाई बताए । उनले भने – यो कुरा सम्झँदा मलाई रुन मन लाग्छ ।’

मन्त्रीको नो रेस्पोन्स

उनीमाथि लागेको आरोपबारे बुझ्न पटक पटक फोन गर्दा पनि मन्त्री शेर्पाले फोन उठाएनन् । एसएमएस पठाउँदा पनि उनले कुनै रेस्पोन्स गरेनन् ।(अनलाइन खबर डटकमबाट साभार )

सम्बन्धित शिर्षकहरु