वैशाख ९ । काठमाडौं,१८ वर्षअघि हत्या गरिएका सेन्ट जेभियर्स स्कुलमा कार्यरत फादर थोमस इ ग्याफ्नेको हत्याका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दोलखा पस्कु-८ का गोकुल भन्ने ढालबहादुर खड्कालाई काकटभिट्टाको भारतसँगको सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । २०५४ साल मंसिर २८ गते राति ग्याफ्नेको हत्या गरेर खड्का फरार भएका थिए । झम्सिखेल नजिकैको कोठामा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।ललितपुर झम्सिखेलस्थित स्कुलमा कार्यरत ग्याफ्नेलाई खड्काले घरेलु कामदारको रुपमा सहयोग गर्दै आएका थिए । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फादर ग्याफ्नेको कोठामा घरेलु काम गरे वापतको पैसा नदिएको निहुमा खड्काले उहाको हत्या गरेका थिए ।भारतमा लुकिछिपी बसेका खड्का नेपालको सीमानामा प्रवेश गर्न लागेको सूचनाका आधारमा प्रहरी गएको थियो । प्रहरीले उनलाई सोमबार विहान पक्राउ गरी मंगलबार काठमाडौं ल्याएर सार्वजनिक गरेको छ ।
घटना भएको दिन २८ गते खड्काले खुकुरी लिएर आए टेबल मुनी लुकाएर राखेका थिए । राति साढे १० बजेसम्म कफी खाएर बसेका उनले फादर ग्याफ्नेसँग पैसा माग्दा नदिएपछि खुकुरी निकालेर हानेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।ग्याफ्नेको हत्यापछि दराजमा रहेको २२ हजार लिएर भागेका खड्का कालोपुलमा पुगेर रगत लागेको कपडा फालेर हिडेका थिए । हत्याको भोलिपल्ट दक्षिणकाली गएका खड्का दिउँसो कालिमाटी आउँदा हत्याराको खोजी भइरहेको थाहापाएपछि इटहरी, काँकडभिट्टा हुँदै भारत फरार भएका थिए ।








