तीन बालिका एउटै रुखमा झुण्डिएको अवस्थामा शव फेला

वैशाख ६ ।भीमदत्तनगर,बझाङको सुर्मा गाविसमा एउटै रुखमा पासो लगाएर तीन बालिकाले सामूहिक आत्महत्या गरेका छन् ।बझाङको सुर्मा गाविस-५ का १४ वर्षीया जुनतारा पुजारा, १४ वर्षीया रेखा पुजारा र १५ वर्षीया कविता बोहराले जङ्गलमा एउटै रुखमा नाम्लोले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सुर्मा उच्च माविमा कक्षा ७ र ८ मा अध्ययरत यी बालिकाहरु लिपपोत गर्न माटो लिन शुक्रबार घरबाट निस्केका थिए ।

बेलुका घर नफर्केपछि खोजीमा जुटेका आफन्तले शनिबार माटो खन्ने ठाउँ नजिकैको बाघमारा जङ्गलमा पासो लगाएको अवस्थामा उनीहरुको शव भेटिएको हो । मृतक तीनै जना माटो लिन बोरा र नाम्लो लिएर गएको समेत बुझिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले तीन बालिकाको शव आज बिहान सदरमुकामस्थित जिल्ला अस्पतालमा शव परीक्षणपछि आफन्तको जिम्मा लगाइसकेको जनाएको छ ।आत्महत्याको कारण भने खुल्न सकेको छैन । सदरमुकामबाट झन्डै छ घन्टाको पैदल दूरीमा घटनास्थल पर्छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

सम्बन्धित शिर्षकहरु