बैशाख ४ ।काठमाडौ,बुधबार राती भारतको मेदान्त अस्पतालमा निधन हुनु भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिंदैछ ।हिजो बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिन लागेको हो । सरकारले थापाको निधनको शोकमा आज सार्वजनिक बिदा पनि दिएको छ ।त्यस्तै एक दिन सरकारी कार्यालय तथा कुटनीतिक नियोगहरु राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको छ ।
उहाँको पार्थिव शरीरलाई हिजो साँझ भारतबाट नेपाल ल्याएर उहाँको निवास माली गाउँमा राखिएको छ ।आजै दिउँसो १ देखि ३ बजेसम्म पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिनेछ भने त्यसअघि मध्यान्ह १२ बजेसम्म पार्टी कार्यालयमा राखिने राप्रपाले जनाएको छ ।दिउँसो ३ बजेपछि रंगशालाबाट शवयात्रासहित पशुपति आर्यघाट पुराएर अन्त्येष्टी गरिने भएको छ ।थापालाई श्रद्धाञ्जलि अर्पण गर्न पार्टीका नेता तथा कार्यकर्ता एवम् शुभचिन्तक र आफन्तको थापा निवास मालीगाउँमा आज बिहानैदेखि घुइँचो लागेको छ । १९८४ मा धनकुटाको मुगामा जन्मिनु भएका थापा पंचायत र प्रजातान्त्रिककालमा गरी ५ पटक प्रधानमन्त्री हुनुभएको थियो ।
संविधानसभामा पार्टीको समानुपातिकतर्फका सभासद थापा संविधानसभाका ज्येष्ठ सदस्य भएकाले सभाध्यक्षको भूमिका पनि निभाउनु भएको थियो ।







