चैत २३ । काठमाडौं, थाइल्यान्ड जेलबाट छुटेर केही दिन अघि नेपाल आउनु भएका पूर्वयुवराज पारस शाह यतिबेला धर्मकर्ममा लाग्नु भएको छ । श्रोतका अनुसार सोमबार गुह्येश्वरी, पशुपति, संकटना, तलेजु र मखन महादेवमा पारस पूजाआजा गर्न जाने कार्यक्रम रहेको छ ।
विभिन्न मठमन्दिरमा पूजा आजा सकेर मात्र साइतमा पारस निर्मल निवास प्रवेश गर्ने उहाका पारिवारिक स्रोतले जनाएको छ । उहाले बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म मन्दिरा घुम्फिर गर्नु हुनेछ ।पारस पूजाआजामा व्यस्त भइरहेका बेला पूर्वयुवराज्ञी हिमानी शाह भने आफ्ना कामदारसहित नयाँ दिल्ली पुगिसक्नु भएको छ । निर्मलनिवासका केही कामदार र पूर्वराजा ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमल्सिनासहित हिमानी होजो दिल्ली पुग्नु भएको हो । पूर्वरानी कोमलको स्वास्थ्य उपचार तथा ज्ञानेन्द्रको राजनीतिक तथा पारिवारिक भेटघाटको व्यवस्थापन गर्न हिमानी दिल्ली जानु भएको हो । लामो समयको थाइल्यान्ड बसाइपछि नेपाल फर्कनु भएका पारसलाई नभेटिकन भारत जानु भएकी हिमानीले एक महिना पछि नेपाल फर्कने कार्यक्रम रहेको छ ।








