२०७२ सालसँगै प्लास्टिक झोलालाई पूर्णरुपमा हटाइने

चैत २१ । काठमाडौँ, सरकारले काठमाडौँ उपत्यकालाई स्वच्छ सफा र प्रदूषणमुक्त बनाउने उद्देश्यले वातावरण संरक्षण ऐन, २०५३ को दफा ७ बमोजिम काठमाडौँ उपत्यकामा प्लास्टिक झोलालाई पूर्णरुपमा हटाउने निर्णय भएको छ । प्लास्टिक झोला नियन्त्रणका लागि यही चैत १८ गते राजपत्रमा सूचना प्रकाशित गरी ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोलाको प्रयोग तथा उत्पादन गर्न रोक लगाइएको छ ।आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकाभित्र प्लास्टिक झोलालाई पूर्णरुपमा हटाइने छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार काठमाडौँ उपत्यकाको पूर्वपट्टी गोदावरी भञ्ज्याङ, त्रिवेणी डाँडा र पार्टी भन्ज्याङको सिरानैसिरान हुँदै अमालडोलको पूर्वपट्टीको पानी ढलो भई रोहिणी भञ्ज्याङ र कीत्र्तिके भञ्ज्याङको सिरानैसिरान हुँदै मन्चुरी लेक र चिपुडाँडाको सिरानसम्म प्लास्टिकको झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।यस्तै पश्चितर्फ सिमपानी काजी गाँउ, भट्टाचौर, दक्षिणकाली, तालुक गुरदम खोला हुँदै चखेलको उत्तरपट्टीको पानी ढलो, चन्द्रागिरि सिमभञ्ज्याङ मसिनी गाँउको पूर्वपट्टीको पानी ढलो, दहचोक डाँडा, मजुवा गाँउ, भीमढुङ्गा थुम्कीको पूर्वपट्टीको पानी ढलो भई मुड्खु र पाँचमाने भञ्ज्याङसम्म ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोला प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।
उत्तरतर्फ पाँचमाने भञ्ज्याङ र शिवपुरी लेकको सिरानैसिरान हुँदै बोलाङ्ग र चिपुडाँडासम्म र दक्षिणतर्फ गोदावरी भञ्ज्याङको सिरानैसिरान ढुङ्गाखानी खोलाको पानी ढलो, भगवान डाँडा र लेल भञ्ज्याङको सिरानैसिरान हुँदै देउराली थुम्की, बाबियागाउँ, मानेको दक्षिणपट्टिको पानीढलो भई वागमती नदी हुँदै सिमपानीसम्म प्लास्टिक झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव महेन्द्रमान गुरुङकाअनुसार प्लास्टिक झोला उत्पादकले वातावरणलाई प्रत्यक्ष हानी पुर्याउने प्लास्टिकबाहेकका अन्य सामग्री उत्पादन गर्न पाउने भएकाले नआत्तिन आग्रह गर्नुभयो ।
मन्त्रालयले उद्योगी, व्यवसायीसँग पटक-पटक छलफलका लागि बोलाए पनि नआएको उल्लेख गर्दै उहाँले वातावरण संरक्षणको महाअभियानमा जुट्न आग्रह गर्नुभयो । व्यवस्थापिका–संसद्को वातावरण समितिले दिएको निर्देशनअनुसार नै काठमाडौँ उपत्यकालाई प्लास्टिक झोलामुक्त अभियान सञ्चालन गरिएको हो ।

सम्बन्धित शिर्षकहरु