चैत १७ । काठमाडौं, एकीकृत नेकपा माओवादीले आफ्ना नेताहरुलाई सक्रियरुपमा कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिएको छ । केन्द्रीय सदस्य तथा सभासदहरुको मंगलबार बसेको संयुक्त बैठकमा अध्यक्ष प्रचण्डले सबैलाई जिल्लामा गएर आन्दोलनमा खटिन निर्देशन दिनु भएको हो ।३० दलीय मोर्चाले तय गरेको आन्दोलनको कार्यक्रमबारे बैठकमा जानकारी दिदै अध्यक्ष प्रचण्डले सरकार विरुद्ध आन्दोलनको विकल्प नभएको बताउनु भयो ।
यसअघि बनाइएका तीनवटा कमाण्ड अनुसार नै नेता कार्यकर्तालाई सक्रियरुपमा कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिएको नेता गिरिराजमणि पोख्रेलले जानकारी दिनु भयो ।एमाओवादीले आन्दोलनलाई सशक्त बनाउन भन्दै मध्य कमाण्ड, पश्चिम कमाण्ड र पूर्वी कमाण्ड बनाएर कार्यविभाजन गरेको छ । मध्य कमाण्डको नेतृत्व प्रचण्डले, पश्चिम कमाण्डको नेतृत्व डा. बाबुराम भट्टराईले र पूर्वी कमाण्डको नेतृत्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरेका छन् ।२१ गते देशव्यापी अन्तरक्रिया र २४ देखि २६ गतेसम्म आमहड्तालको कार्यक्रमलाई स्थगित नगरेको एमाओवादीले जनाएको छ । मोर्चाको सोमबारको बैठकले यसअघि घोषित २३ गतेसम्मको आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो ।








