
चैत्र २, काठमाडौँ- आगामी चैत्र ५ देखि शुरु हुने एसएलसी परीक्षामा कुल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी हुने जानकारी गराएको छ । जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी कुल चार लाख २६ हजार २१४ जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
एक्जाम्टेडतर्फ भने छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कूल एक लाख ४५ हजार १८३ जना सहभागी हुने भएका छन् । प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रा तर्फ एक हजार २५१ जना गरी कुल तीन हजार २८८ जना परीक्षामा सहभागी हुनेछन्।
कार्यालयमा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिँदै परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले दृष्टिविहीन परीक्षार्थीका लागि कक्षा ९ मा अध्ययनरत व्यक्तिलाई सहयोगीका रुपमा राख्न पाउने व्यवस्था गरेको बताउनुभयो ।
त्यसैगरी एसिड छर्किएर घाइते भई अस्पतालमा उपचार भइरहेका दुई छात्रालाई नजिकको केन्द्रबाट प्रश्नपत्रसहितको टोली खटाइ अस्पतालबाटै परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिँदै लेख्न नसक्नेका हकमा सहयोगी राख्न पाउने व्यवस्था गरिएको बताइएको छ।
त्यसैगरी, यसवर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीको विस्तृत विवरणसहितको कन्ट्रोल लिष्ट कार्यालयको वेभसाइट डब्लुडब्लुडब्लु डट एसओसिइ डट जिओभी डट एनपी बाट सार्वजनिक गर्ने भएको छ।
परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौँमा ३४ हजार ५८७ र सबैभन्दा कम मनाङमा ७४ जना रहेका छन् भने यसवर्ष परीक्षा दिनेमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको छ ।
परीक्षा तालिका
चैत ५ गते अनिवार्य अंग्रेजी
चैत ६ गते अनिवार्य नेपाली
चैत ८ गते गणित
चैत ९ गते विज्ञान
चैत १० गते सामाजिक
चैत ११ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा
चैत १२ गते ऐच्छिक प्रथम
चैत १३ गते ऐच्छिक दोस्रो








