फागुन १९ ।कञ्चनपुर, नमुना नगरपालिकाका रुपमा विकास गर्ने लक्ष्यका साथ सुदूरपश्चिम क्षेत्रका चार नगरपालिकाको दीर्घकालीन विकासका लागि रु १० अर्बको ‘सुदूरपश्चिम क्षेत्र सहरी विकास परियोजना’ सञ्चालनमा ल्याइएको छ ।एसियाली विकास बैंक (एडिबी)को सहयोगमा
कैलालीको धनगढी र अत्तरिया तथा कञ्चनपुरको भीमदत्तनगर र झलारी पिपलाडी नगरपालिकामा यो पारीयोजना सञ्चालन गरिएको छ ।
खानेपानी, ढल निकास, फोहर मैला व्यवस्थापन, सडक तथा यातायात, भू–उपयोग र क्षेत्रीय विकासका क्षेत्रमा परियोजनाले कार्य गर्ने परियोजनाका सामाजिक आर्थिक सर्भेक्षक छाया झाले बताउनुभयो ।पहिलो चरणमा योजनाको छनोट, विस्तृत अध्ययन र लागत अनुमानको कार्यलाई अगाडि बढाइने छ ।चारवटै नगरपालिकामा सामाजिक आर्थिक सर्भेक्षणको कार्यअन्तर्गत नगरपालिकाको क्षेत्रीय विकासका लागि पूर्वाधार तथा अन्य आवश्यकताको पहिचान गर्न, नगरस्तरीय सेवाहरुको पहुँचमा महिला गरिब तथा वञ्चितीकरणमा परेकाहरुले सामना गर्नुपरेका बाधा पहिचान गर्न र नगरपालिकाबाट प्रदान गरिने सेवामा गर्नुपर्ने सुधारका उपायहरु अवलम्बन गर्न सरोकारवाला निकायसँग छलफलको कार्यलाई अगाडि बढाइएको छ ।
यसै कार्यअन्तर्गत नगरपालिकाको घरधुरी सर्भेक्षणको कार्यलाई समेत अगाडि बढाइएको छ । चारवटै नगरपालिकालाई नमुना नगरपालिकाका रुपमा विकास गर्ने परियोजनाको लक्ष्य रहेको सर्भेक्षक सुरेश दाहालले बताउनुभयो ।“समुदायले पहिचान गरेका योजनालाई परियोजनामा समेटिने भएकाले छलफल, अन्तक्र्रियाका माध्यमबाट योजना छनोटको कार्यलाई सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “स्थानीय आफैँले छनोट गरेका योजनामा अपनत्व हुने भएकाले यस्ता योजनाहरु दिगो रुपमा टिक्ने हुन्छन् ।” सामाजिक आर्थिक सर्भेक्षणमा चारवटै नगरपालिकाका सरोकारवालाबाट खानेपानी, सरसफाइ, फोहरमैला व्यवस्थापन, ढल निकास, यातायात, सडक, खेल मैदान, पार्क, बधशाला, बसपार्क, बस बिसौनी, नदी नियन्त्रण, वन संरक्षण, व्यवस्थित बसोवास, होम स्टे र पर्यटकीय स्थलको विकाससम्बन्धी योजनाहरुलाई प्राथमिकतामा राख्नुपर्ने माग आएको उहाँले उल्लेख गर्नुभयो ।








