फागुन ५ ।काठमाडौँ, नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज मुलुकभर ‘सेना दिवस’ मनाइँरहेको छ ।
सेना दिवसको अवसरमा नेपाली सेनाले आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गर्दैछ ।
सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा आयोजना हुने उक्त विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा रामवरण यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।गौरवमय इतिहास र परम्परा बोकेको नेपाली सेनाले नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ ।सोही क्रममा सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको नेपाली सेनाले जनाएको छ ।
जङ्गी अड्डा मातहत मुलुकका विभित्र भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायतका निकायमा समेत सेना दिवसका कार्यक्रम गरिनेछ ।
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभित्र कालखण्डमा नेपाली सेनाले उदाहरणीय कीर्तिमानी काम गर्दै आएको छ ।
नेपाली सेनाकै वीरताका कारण विगतमा अङ्ग्रेजको दबदबा रहेको अवस्थामा समेत दक्षिण एसियामा नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको थियो ।
वर्तमान नेपाली सेनाको साङ्गठनिक स्वरूपको सुरुवात १८१९ सालबाट भएको र अहिले नेपाली सेनाको जनशक्ति करिब ९५ हजार छ । उक्त सुरक्षा सङ्गठनको प्रमुखमा अहिले प्रधानसेनापति गौरवशम्शेर जबरा हुनुहुन्छ ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिता सन् १९५८ बाट सुरु भएकामा त्यस कार्यमा हालसम्म एक लाख ६ हजार ४१२ जनाबाट योगदान भइसकेको छ ।
विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने क्रममा नेपाली सेनाका ६० ले वीरगति पाउनुका साथै ५९ जना गम्भीर घाइते भएका छन् ।
नेपाली सेनाका ४ हजार ३२२ फौज विश्वभरका १४ वटा संयुक्त राष्ट्रसङ्घीय मिसनमा शान्ति स्थापनार्थमा हाल परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा हाल नेपाल छैटौँ स्थानमा रहेको छ ।
नेपाली सेना पछिल्लो समय छिमेकी राष्ट्रको सेनाको साथसाथै विश्वका अत्यन्त शक्तिशाली मुलुकका लागिसमेत पेशागत क्षमता र दक्षता अभिवृद्धिको केन्द्रसमेत बन्दै गएको छ ।
यसैबीच सेना दिवस २०७१ को उपलक्ष्यमा प्रधानसेनापति राणाले दिनुभएको सकल दर्जालाई दिनुभएको सन्देशमा नेपाली सेनाले सदैव राष्ट्र निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रिय अखण्डताको पहरेदारी र जनताको सर्वपरि हितका लागि त्याग र बलिदान दिँदै आएको स्मरण गराउनुभएको छ ।








