माघ २८ ।रुपन्देही, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको भौगोलिक विविधतालाई सम्पत्तिका रूपमा स्वीकार गर्नुपर्ने भन्दै एकल जातीय पहिचानका आधारमा राज्यको विभाजन तथा नामाकरण हुन नसक्ने बताउनु भएको छ ।प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहान भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले संविधान निर्माणका लागि सहमतिको अधिकतम प्रयास गर्दागर्दै पनि जातीय संघीयताको माग राखेर एमाओवादी सहमतिमा नआएपछि संविधानसभा प्रक्रियामा अगाडि बढेको बताउनु भयो ।
उहाले एमाओवादी सहितका ३० दलीय मोर्चालाई आन्दोलनको बाटो त्यागेर वार्ता र संवादको बाटोमा आउन आग्रह गर्नु भयो ।
एमाओवादीका कारण तोकिएको समयमा संविधान जारी गर्न नसकिएको बताउँदै नेता नेपालले सबैको साझा प्रयासमा संविधान जारी गर्न सकिए संविधान दिगो हुने बताउँदै सहमतीय बाटोबाट अगाडि बढ्नका लागि वार्तामा आउन आग्रह गर्नुभयो ।
“सहमतिका लागि सबै पक्षको उत्सुकता र आतुरता हुनुपर्ने हो,” उहाँले एमाओवादी र मधेसी दलतर्फ लक्षित गर्दै प्रश्न गर्नुभयो– “सहमतिका लागि हामी तयार छौं उहाँहरु कहिलेसम्म आउनुहुन्छ ?”उहाँले नेकपा– माओवादीलाई पनि मूलधारको राजनीतिमा आउन आग्रह गर्नुभयो ।






