माघ २३ । काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सबैले मिलेर सहमतिका आधारमा संविधान बनाउनुपर्ने भन्दै आन्दोलित विपक्षी दलहरुलाई वार्तामा आउन आग्रह गर्नु भएको छ । राष्ट्रपति डा. यादवले शुक्रबार बिहान एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग शीतलनिवासमा गर्नु भएको छलफलमा सहमतिका लागि सबै दलले आ-आफ्ना अडान छोडेर लचकता अपनाउनु पर्ने बताउनु भएको हो ।
राष्ट्रपति डा. यादवले प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई आन्दोलित दलहरु वार्तामा आउन आग्रह गर्नु भएको थियो । छलफलमा एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरु संविधानसभाबाट सहमतिका आधारमा संविधान बनाउने पक्षमा रहे पनि कांग्रेस र एमाले सहमति गर्न नचाहेर प्रक्रियामा गएको बताउनु भएको थियो ।
जवाफमा राष्ट्रपतिले यसबारे आफूले कांग्रेस र एमालका नेताहरुसँग पनि सहमतिको प्रयास गर्न आग्रह गर्ने बताउनु भएको थियो ।
राष्ट्रपति डा. यादवले बाह्रबुँदे समझदारी अनुसार सबै दलहरु मिलेर संविधान निर्माण गर्नु पर्ने धारणा राख्नु भएको थियो । उहाले भन्नु भयो, “शान्ति प्रक्रिया र जनआन्दालनेका सहयात्रीहरु आफसमा नमिल्दा गलत तत्वले फाइदा उठाउन सक्छ ।”
भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले सहमतिका साथ अघि बढ्न कांग्रेस र एमाले तयार भएमा आफूहरु वार्तामा आउने जानकारी गराउनु भएको थियो ।








