सत्तारुढ दलले मुलुकलाई मुठभेडतिर लगेको विपक्षी दलहरुको आरोप

माघ १० ।काठमाडौँ, एकीकृत नेकपा माओवादी नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक गठबन्धनले सत्तारुढ दलले आफ्नो स्वार्थका लागि मुलुकलाई मुठभेड गराएको निष्कर्ष निकाल्दै आफुहरु अझै पनि सहमतिका लागि तयार रहेको निष्कर्ष निकालेको छ ।
मोर्चाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आइतबार सुरु गर्न लाग्नुभएको प्रक्रियाको समेत विरोध गर्ने ठहर गरेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
उहाँले सप्तरी, झापा, धनकुटालगायतका जिल्लामा सत्तापक्षले प्रहरीको आडमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विपक्षी दलका नेता तथा कार्यकर्तामाथि दमन गरिएको भन्दै बैठकले भत्र्सना गरेको बताउनुभयो ।
गठबन्धनले प्रक्रिया नमिची, नियमसङ्गत आधारमा संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउन सत्तारुढ दललाई ध्यानाकर्षण गराएको सहअध्यक्ष कर्णको भनाइ छ ।
संविधानसभाको बैठकमा सबै पक्षलाई मिलाएर लैजानुपर्नेमा सभाध्यक्षले समेत नकारात्मक भूमिका खेलेको भन्दै सभाध्यक्षलाई समेत पदीय मर्यादामा रहन सचेत गराएको छ ।
बैठकमा एमाओवादी, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम नेपाल, सङ्घीय समाजवादी पार्टी, सद्भावना पार्टीलगायत दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षकहरु