पुस २३ ।पेरिस, फ्रान्सको व्यङ्ग्यात्मक साप्ताहिक पत्रिका चार्ली हेब्दोको कार्यालयमा बुधबार बन्दुकधारीहरूले कालास्निकोभ्स बन्दुक तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा १२ व्यक्तिको मृत्यृ भएकोप्रति विश्वभर भत्सर्ना गरिएको छ । राष्ट्रपति फ्राँस्वा अलोँ तत्कालै पेरिसको उक्त घटनास्थलतर्फ लाग्नुभएको छ । उहाँले यसलाई आतङ्कवादी आक्रमणको रूपमा लिनुभएको छ ।
राष्ट्रपति अलोँले यसलाई अति बर्बरताको कार्य भएको बताउनुभयो । उहाँले यस विषयमा मन्त्रिपरिषद्को आपत्कालीन बैठक बोलाउनुभएको छ ।
बन्दुकधारीले १२ व्यक्तिको हत्या गरेको र अल्लाहु अकबर भन्ने नारा लगाएको बताइएको छ ।
हाल सरकारले पेरिस बृहतर क्षेत्रमा उच्च सतर्कता अपनाएको छ भने राष्ट्रपति अलोँले राष्ट्रिय एकताका लागि आग्रह गर्नुभएको छ ।
उहाँले हालका सातामा अनेकौँ आतङ्कवादी आक्रमणका प्रयास असफल पारिएको बताउनुभयो ।
बुधबारको आक्रमण पेरिसमा गत केही दसकमा सबैभन्दा नराम्रो आक्रमण भएको ठानिएको छ ।
अनुसन्धानसँग नजिकका एक स्रोतले दुई पुरुषले कालास्निकोभ तथा रकेट प्रक्षेपकका साथ पेरिसको मध्य भागमा रहेको उक्त कार्यालयको भवनमा प्रवेश गरेको र सुरक्षाकर्मीसँग उनीहरूको गोली प्रहार भएको बतायो ।
उक्त स्रोतल बन्दुकधारीले एक कार अपहरण गरी भाग्नखोज्दा गरी बटुवालाई ठक्कर दिएको बुझिएको छ । उहाले यस आक्रमणमा दुई प्रहरी अधिकारीको मृत्यु भएको जानकारी दिनु भयो ।
टेलिभिजनमा घटनास्थलमा निकै प्रहरीलाई देखाइएको छ । यसका साथमा गोली लागेका झ्याल तथा मानिसलाई अस्पतालतर्फ लैजाँदै गरिएको पनि देखाइएको छ ।
प्रहरी स्रोतले ती बन्दुकधारीले आफूले धर्मगुरुको बदला लिएको भनी चिच्याएको प्रहरी स्रोतले बतायो ।
आक्रमणकारीलाई के भयो भन्ने सम्बन्धमा तत्कालै थाहा हुनसकेको छैन ।बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले ट्विटरमार्फत उक्त कार्यको भत्र्सना गर्नुभएको छ ।यस पत्रिकाले सन् २००६ मा धर्मगुरु मोहम्मदको व्यङ्ग्यचित्र पुनः छापेपछि त्यसको आलोचना भएको थियो । उक्त व्यङ्ग्यचित्र डेनमार्कका दैनिक पत्रिका जिलान्डस–पोस्टेनमा पहिलोपटक प्रकाशन भएको थियो । त्यसको मुसलमान विश्वबाट कडा आलोचना भएको थियो ।
सन् २०११ को नोभेम्बरमा चार्ली हेब्दोको नामबाट धर्मगुरु मोहम्मदको व्यङग्यचित्र प्रकाशन गरेपछि यस संस्थाका कार्यालयहरूमा अग्निबम प्रहार भएको थियो ।
जातीय विभेदविरुद्ध यस पत्रिकाका विषयमा अदालतमा मुद्दा दायर भए पनि यस साप्ताहिकले निरन्तर रूपमा धर्मगुरु मोहम्मदको व्यङ्ग्यचित्र प्रकाशन गरेको थियो ।
सन् २०१२ को सेप्टेम्बरमा यस पत्रकाले धर्मगुरु मोहम्मदको नाङ्गो व्यङ्ग्यचित्र प्रकाशन गरेको थियो । अमेरिकामा धर्मगुरु मोहम्मदको आलोचना गर्दै कम बजेटको ‘‘इन्नोसेन्स अफ मुस्लिम्स’’ नामक चलचित्र बनेपछि विभिन्न मुलुकमा हिंसात्मक प्रदर्र्शन भएका थिए ।
यसपछि विश्वका २० मुसलमान मुलुकमा फ्रान्सको राजदूतावासमा आक्रमण हुनसक्ने आशङ्कमा यस्ता कार्यलय बन्द गरिएका थिए ।
यस पत्रिकाका सम्पादक हाल प्रहरीको सुरक्षा रहेका छन् र उनीमाथि ज्यानको धम्की दिइएको छ ।
अमेरिकाले उक्त कार्यको सम्भवत सबै शब्दले भत्र्सना गरेको छ ।
ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले ह्वाइट हाउसका रहेका सबै उक्त घटनामा मारिएका तथा घाइते भएका व्यक्तिको पक्षमा रहेको बताउनुभयो । विश्वका नेता तथा आमसञ्चार समूहले पत्रिका चार्ली हेब्दोमाथि भएको आक्रमणलाई बर्बर भन्दै भत्र्सना गरेका छन् । यसलाई अभिव्यक्तिको स्वतन्त्रतामाथि आक्रमणको रूपमा लिइएको छ ।
ह्वाइट हाउसले यसलाई सकेसम्म कडा शब्दमा भत्र्सना गरेको छ भने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले मस्कोले आतङ्कवादको सबै प्रकारको स्वरूपप्रति निर्णायक रूपमा भत्र्सना गर्ने बताउनु भएको छन । टर्कीका संस्कृति तथा पर्यटन मन्त्री ओमर सेलिकले यस घटनाले युरोपमा धार्मिक तनाव बढाउने बताउनुभएको छ ।
कमिटी टु प्रोटेक्ट जर्नालिस्टले यो युरोपको मुटुमा अभिव्यक्तिको स्वतन्त्रतामाथि निर्लज्ज आक्रमण भएको बताएको छ भने रिपोर्टर्स विथआउट बोर्डर्सले यसलाई कालो दिवसको रूपमा लिएको छ ।
बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले यसलाई बर्बर आक्रमण मान्नुभएको छ भने जर्मन चान्सलर एङ्गेला मर्केलले यसलाई घृणित घटनाको रूपमा लिनुभएको छ ।
ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले अमेरिका फ्रान्सेली अधिकारीलाई यस आक्रमणमा अनुसन्धान गर्न सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।इटालीका प्रधान्मन्त्री मेटेओ रेन्जीले यो डरलाग्दो घटना भएको बताउनुभएको छ । युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड जङ्कले यस घटनाले गहन रूपमा स्तब्ध पारेको र यो क्रूर तथा अमानवीय आक्रमण भएको बताउनुभएको छ ।
नेटोको महासचिव जेन स्टोलटनबर्गले यस्तै प्रकारको भाषा प्रयोग गर्नुभएको र यसलाई बर्बर कार्य भएको बताउनुभएको छ ।
आक्रमणकारीले आफूले धर्मगुरुको बदला लिएको र अल्लाहु अकबर भन्ने शब्दप्रयोग गरेको घटनास्थलका साक्षीले बताएको जानकारी प्रहरीले दिएको छ ।








