पुस १८ । कांग्रेसले माघ ८ मै संविधान जारी गराउन अन्य दललाई मान्य हुने सहमति गर्न आफु तयार रहेको बताएको छ ।शुक्रबार बसेको कांग्रेसका शिर्ष नेताहरुको बैठकले संविधान लेखनका विवादित मुद्दामा लचिलो भएर छलफल अघि बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अलमल गरेर विवाद गर्ने समय नरहेको भएको भन्दै संविधान जारी गर्ने प्रक्रियामा जानुपर्ने र त्यसका लागि लचिलो भएर सहमति गर्नेबारेमा छलफल भएको थियो।बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले जसरी भए पनि माघ ८ मा संविधान ल्याउनुपर्ने र यसका लागि कांग्रेसले अगुवाइ गर्नुपर्ने बताएका थिए।
बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कुन कुन विषयमा लचिलो हुन सकिन्छ भन्ने बारेमा पहिले एमालेसँग छलफल गरी साझा अवधारणा बनाउने र त्यही आधारमा एमाओवादी एवं मधेसी दलहरुसँग वार्ता गर्ने निर्णय भएको बताए।
बैठकले सभामुख सुवास नेम्वाङको प्रस्तावलाई सकारात्मक रहेको निश्कर्ष निकालेको छ।यसबाट उत्पन्न हुनसक्ने राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रिपरिषद्मा रहेका वरिष्ठ सदस्यहरु र केही प्रभावशाली केन्द्रीय सदस्यहरुको उपस्थिति थियो।








