पुस ३ ।काठमाडौं,हरेक बर्ष डिसेम्बर १८ तारिखका दिन मनाइने आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
“सुरक्षित आप्रवासनको आवश्यकता, हामी सबैको प्रतिबद्धता” भन्ने नारासहित सरकारी तथा गैरसकारी क्षेत्रबाट आज विभिन्न कार्यक्रम भइरहेको छ । श्रम तथा रोजगार मन्त्रालयको संयोजकत्वमा दिवस सप्ताहव्यापीरुपमा मनाइने भएको हो ।
सन १९९० मा विश्व आप्रवासी कामदार र उनका परिवारको हक अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी पारित भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हकअधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी पारित भएको दिनको सम्झनामा सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाउने गरिएको छ । रोजगारी र जीविकोपार्जनका लागि अर्को देशमा गइ बस्ने प्रकृयालाई आप्रवासन भनिन्छ ।
आप्रवासी कामदारहरुमा चेतना जगाउने, आप्रवासी कामदारहरुलाई सम्बन्धित देशका घरेलु कामदारलाई जस्तै मान्यता र सुरक्षा प्रदान गर्नुपर्ने सन्देशसहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।
अहिले विश्वका एकसयभन्दा बढी देशमा नेपालीहरु पुगेको विभिन्न तथ्यांकहरुले देखाएको छ । श्रम स्वीकृति लिएर विदेश जानेको संख्या गएको कात्तिक महिनासम्म करिब ३५ हजार रहेको श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक छ ।





