काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनलाई बिरामी जाँच्न भ्याइनभ्याइ छ । भन्छन्, ‘खाना खान पनि फुर्सद छैन ।’ उनी बिहान ९ बजे अस्पताल पुग्छन् । डेंगुको शंका गर्दै जाँच गर्न आएका बिरामीको लाइन हुन्छ । उपचारमा संलग्न चिकित्सक पानी पिउनै नपाई जाँच्न व्यस्त हुन्छन् । ‘बिरामीलाई सोध्ने र उनीहरूका जिज्ञासा समाधान गर्दा नै मुख प्याकप्याक हुन्छ’, अर्का चिकित्सक भन्छन् ।
भीडभाडले अस्पतालमा जात्रा लागेझैं देखिन्छ । ठेलमठेल हुन्छ । बिरामीको अनुहार निन्याउरो देखिन्छ । उनीहरूका आफन्त आक्रोशित भेटिन्छन् । अस्पतालनजिकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिकट काउन्टरमा पनि यस्तै दृश्य देखिन्छ । डेंगुको आशंकामा रगत जँचाउने र रिपोर्ट लिनेको लाइन बिहानदेखि लागेको हुन्छ । अन्नपूर्ण पोस्टमा खबर छ ।
नेत्र विशेषज्ञ प्राडा सन्दुक रुइत तीन दिनयता अस्पतालमा छन् । अघिपछि पनि काम गर्ने र पढाउने अस्पताल होइन । डेंगुको संक्रमणले आफैं बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन् । उनलाई डेंगु पनि अस्पताल रहँदा भएको होइन । घरमै उनीसहित परिवारका तीन जनालाई डेंगुको संक्रमण हो ।
‘डेंगुको अवस्था भयाभय भएको आयो’, उनले भने, ‘डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी चलाउनढिला गरे झन् गाह्रो हुन्छ ।’
डेंगु संक्रमण हुने रुइत एक्ला चिकित्सक होइनन्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका गरेर आइतबारसम्म १० स्वास्थ्यकर्मीमा डेंगु देखिएको कान्तिपुर दैनिकमा खबर छ । यसअघि कृषिमन्त्री चक्रपाणि खनाललाई पनि डेंगु भएको समाचार बाहिर आएको थियो ।








