मंसिर २४ । खोटाङ, बडकादिया ५ स्थित बगैँचा गाउँमा धारामा पानी नआउने र कुवामा पानी सुकेपछि याँहाका बासिन्दाले खानेपानीको लागि कष्ट भोग्नु परेको छ ।
गाउँमा खानेपानीको हाहाकार हुँदा नौ घर दलितसहित १७ घरपरिवार तीन घण्टाको बाटोदेखि पानी खेपेर खान बाध्य छन् ।
यो गाँउमा विगत दुई वर्षदेखि खानेपानीको समस्या भएको हो ।
गाउँको नजिकमा रहेका धारा तथा कुवा सुकेपछि तीन घन्टा धाएर खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयले बताए ।
खानेपानी लिनकै लागि एक जनालाई एक बिहान लाग्छ ।
यसले गर्दा विशेषगरी केटाकेटीको पढाइमा असर पुगेको छ ।”
नौ घर दलितसँगै चार घर श्रेष्ठ र चार घर कार्की परिवार बसोवास गर्ने उक्त गाउँमा हालसम्म कुनै योजना नपरेको स्थानीय सन्तोष सुयलले दुख पोखे ।
आफूहरुको यत्तिका समस्या हुँदाहुँदै पनि कसैको ध्यान नपुगेको उनीहरुको गुनासो छ ।
मानिसलाई भन्दा पनि गाईवस्तुलाई समेत गाग्रोमा बोकेको पानी खुवाउनु पर्दा थोरै कामको लागि धेरै समय र श्रम खर्चनु परेको उनले बताए ।
त्यस क्षेत्रमा एउटा मात्र कुवा भएकाले बिहान सबेरै नगए पानी नपाइने स्थानीयको भनाइ छ ।








