काठमाडौँ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा मन्त्रालयले सञ्चालन गरेको एमबिबिएस अन्तर्गतको छात्रवृत्ति परीक्षाको प्रश्नपत्र आउट गरेको अभियोगमा गोल्डेनगेट इन्टरनेसनल कलेजका निर्देशक देवीराम पाण्डे र शिक्षक प्रभातकुमार कुशवाहलाई पक्राउ गरेको छ ।
आयोगले उनीहरुले प्रश्नपत्र दिँदै गर्दा शनिबार रातोपुलबाट रङ्गेहात नै पक्राउ गरेको हो ।
शनिबार सञ्चालन गरिएको एमबिबिएसको प्रश्नपत्र खण्ड ‘क’ र ‘ख’को १०\१० पाना विभिन्न परीक्षार्थीलाई दिलाइदिन्छु भन्दै रकम उठाएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
पाण्डे र कुशवाहले नौ जना विद्यार्थीबाट रु १० लाख लिएको खुल्न आएको छ ।
यस्तै सोही कार्यमा संलग्न सोही कलेजका शिक्षक खेचरलाल सापकोटा, मध्यस्तकर्ता महेश्वरअप्रशाद यादवसमेत सात जनालाई समेत आयोगले शनिबार नै पक्राउ गरेको छ ।
काठमाडौँका विभिन्न केन्द्रमा एमबिबिएसको परीक्षा सञ्चालन हुनु अगावै प्रश्नपत्र बाहिरिएको थियो ।
विद्यार्थीसँग रकम लेनदेन भएको सूचना आएपछि आयोगले विगत केही दिनदेखि नै सुक्ष्म अनुसन्धान गर्दै आएको थियो ।
चिकित्सा क्षेत्र अध्ययन गर्ने विद्यार्थीलाई शिक्षा मन्त्रालयले छात्रवृत्ति प्रदान गर्ने ध्येयका साथ परीक्षा सञ्चालन गरेको हो । पक्राउ परेका सबैलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको छ ।








