महराको संयोजकत्वमा नँया कार्यदल गठन

मङ्सिर १९ । काठमाडौँ,एकीकृत नेकपा माओवादी २० राजनीतिक दलको मोर्चाले एमाओवादीका महासचिव कृष्णबहादुर महराको संयोजकत्वमा

नँया कार्यदल गठन गरेको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने यी २० राजनीतिक दलको मोर्चाले संविधानसभाका विवादित विषयमा सहमति जुटाउनका लागि कार्यदल गठन गरेको हो ।

आज बिहान बसेको संयुक्त बैठकले बनाएको सो कार्यदलमा तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, समाजवादी जनता दलका अध्यक्ष एवं सभासद् प्रेमबहादुर सिंह, तराई–मधेस समाजवादी पार्टीका उपाध्यक्ष रानी शर्मा र खम्बुवान राष्ट्रिय मोर्चाका सभासद् रामकुमार राई सदस्य रहनुभएको छ ।

कार्यदलले पहिचानमा आधारित सङ्घीयता र सङ्घीयतासहितको संविधान जारी गर्नका लागि समान धारणा बनाउने र एकीकृत रुपमा अगाडि बढ्ने निर्णय गरेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

मोर्चाले कार्यदललाई संविधानका विवादित विषयमा समान धारणा बनाउन अख्तियारी प्रदान गरेको छ ।

दलबीच शासकीय स्वरुप, राज्य पुनःसंरचना,निर्वाचन र न्याय प्रणालीलगायत विषयमा विवाद रहँदै आएको छ ।

विवादित विषयमा दलले लामो समयदेखि छलफल गर्दै आए पनि हालसम्म कुनै पनि सहमति हुन सकेको छैन ।

विवादित विषयमा सहमति नहुँदा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले हालसम्म संविधानसभामा प्रतिवेदनसमेत पठाउन सकेको छैन ।
प्रमुख दलका शीर्ष नेताले संवाद समितिका सभापति डा बाबुराम भट्टराईलाई कस्तो प्रतिवेदन पठाउने भन्ने विषयमा स्वविवेक प्रयोग गर्ने अख्तियारी दिएका छन् ।
बीस दलीय मोर्चाले समान धारणा तयार पारे नेपाली काँग्रेस र नेकपा (एमाले)लगायतले पेस गरेको प्रतिवेदनका सम्बन्धमा छलफल गर्न सहज हुने जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु