मङ्सिर १०, इस्लामाबाद- पाकिस्तानकी चर्चित नायिका बीना मल्लिकलाई ईश्वर र धर्मको निन्दा गरेको आरोपमा २६ वर्षको कैद सजाय सुनाइएको छ। पाकिस्तानको जियो टिभीमा ईश्वरनिन्दा सम्बन्धी कार्यक्रम चलाएको टिभीका मालिक शाकिल उर रहमानलाई पनि दोषि ठहर्याएको छ।
जियो टिभीको बिहान प्रसारण हुने कार्यक्रम ‘उठो जागो पाकिस्तान’ कार्यक्रममा बिनाको बिहे र उनले मेहन्दी लगाएको भिडियो प्रत्यक्ष प्रसारण भएको थियो। टिभीमा म्युजिक बैण्डले ‘अलि के साथ है जहराका शादी’ भन्ने गीत गाएको पनि देखाइएको थियो।
सो भिडियोप्रति आपत्ति जनाउँदै कट्टरपन्थी संगठनले त्यसपछि एन्टी टेररिज्म कोर्टमा मुद्दा हालेका थिए। मुद्दाको फैसला गर्दै न्यायाधीशले प्रस्तोतालाई पनि २६ वर्षको कैद सजाय सुनाएका छन।
अदालतले दोषी ठहर्याएका सबैलाई १३ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तिराइने भनेको छ। दोषी ठहर्याएका सबै जना पाकिस्तान बाहिर छन्।








