मङ्सिर १ ।काठमाडौँ,एकीकृत नेकपा माओवादी लगायत २२ दलीय मोर्चाले नेपाली काँग्रेस र नेकपा एमाले लगायत दलले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्तुत गरेको प्रस्ताव सहमतिको भावनाविपरीत प्रस्ताव ल्याइएको भन्दै विरोध जनाएको छ ।
एकीकृत नेकपा माओवादीको संसदीय दलको कार्यालयमा आज बसेको बैठकले सहमतिको भावनाविपरीत प्रस्ताव ल्याइएको निष्कर्ष निकाल्दै विगतका सहमति र सम्झौताका आधारमा प्रस्तुत हुन सत्तारुढ दललाई आग्रह गरेको हो ।
आफूहरुले प्रस्तुत गरेको प्रस्ताव फिर्ता नलिने अडानमा रहेका काँग्रेस र एमालेलगायत दलले आज बस्ने समितिको बैठकमा दुई तिहाई सदस्यको हस्ताक्षर बुझाउने तयारी गरिरहेको बेला एमाओवादी नेतृत्वको मोर्चाको त्यस्तो धारणा आएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारमा रहेका दलहरुले प्रस्तुत गरेको प्रस्ताव फिर्ता लिएर सहमतिका लागि तयार भए आफूहरु लचकताका साथ प्रस्तुत हुने जानकारी दिनुभयो ।
उहाँले विगतमा दलबीच भएको बाह्रबुँदे सहमति, अन्तरिम संविधान २०६३, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग भएको सम्झौतालाई
केन्द्रमा राखेर अगाडि बढ्न सबै पक्ष तयार हुनुपर्नेमा जोड दिनुभयो ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले संवाद समितिमा प्रस्तुत प्रस्तावले सङ्घीयताको मर्मलाई आत्मसात् गर्न नसकेको भन्दै त्यसलाई स्विकार्न नसकिने बताउनुभयो ।








