असोज ३० ।काठमाडौँ, एकीकृत माओवादी सचिव टोपबहादुर रायमाझीले सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने भएका छन् । एमाओवादी महासचिव कृष्णबहादुर महराले सरकारमा नजाने निर्णय गरेर मार्गप्रशस्त गरेपछि रायमाझीले नेतृत्व गर्ने भएका हुन्, आजको नयाँपत्रिका दैनिकले लेखेको छ ।
एमाओवादी स्रोतका अनुसार महासचिव महराले मन्त्री चुन्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्णय लिन सहज होस् भन्दै शुक्रबार बिहान आफू सरकारमा नजाने धारणा राखेका थिए । उनले सरकारमा नजाने निर्णय गरेको जानकारी गराएपछि अध्यक्ष प्रचण्डले रायमाझीको नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउने तयारी गरेका हुन् ।
बिहीबार बसेको स्थायी समिति बैठकले महासचिव महराको नेतृत्वमा सरकारमा जाने र अन्तिम निर्णय लिने अधिकार प्रचण्डलाई दिएको थियो । सचिव रायमाझीले पार्टीबाट सरकारमा नेतृत्व वा गृहमन्त्री पाउनुपर्ने दाबी कायमै राखेपछि अध्यक्ष प्रचण्डलाई निर्णय लिन अप्ठ्यारो परेको थियो । महराले सरकारमा नजाने घोषणा गरेपछि प्रचण्डलाई निर्णय लिन सहज भएको छ ।
स्रोतका अनुसार रायमाझीले उपप्रधान तथा पर्यटन मन्त्रालय लिने भएका छन् । उनीसँगै सचिव गिरिराजमणि पोखरेल, स्थायी समिति सदस्यहरू शक्तिबहादुर बस्नेत र अग्निप्रसाद सापकोटा मन्त्री हुुने निश्चित भएको छ । स्रोतका अनुसार बस्नेतले गृह मन्त्रालय सम्हाल्ने भएका छन् । पोखरेलले सहरी विकास र सापकोटाले शिक्षा वा स्वास्थ्यमध्ये एक मन्त्रालय लिने भएका छन् । ‘शिक्षा र स्वास्थ्यमध्ये एमाले र हामीले एक–एकवटा लिने कुरा भएको छ । पार्टीले जुन लिन्छ, सापकोटाले त्यही सम्हाल्नुहुन्छ,’ स्रोतले भन्यो ।
महासचिव महरासँगको छलफलपछि अध्यक्ष प्रचण्डले रायमाझीको नेतृत्वमा सरकारमा जाने निर्णय लिएका थिए । प्रचण्डले गृहबाहेकको मन्त्रालय छान्न आग्रह गरेपछि रायमाझीले आफूपक्षीय नेताहरूसँग परामर्श गरेका थिए । स्रोतका अनुसार उनीपक्षीय नेताहरूले पर्यटन मन्त्रालय लिन सुझाब दिएपछि उनी पर्यटन मन्त्रालय लिएर उपप्रधानमन्त्रीमा जान सहमत भएका हुन् ।
बिहीबारको स्थायी समिति बैठकमा रायमाझीले आफू सरकारमा अनिवार्य सहभागी हुने भन्दै चार विकल्प राखेका थिए । उपप्रधानमन्त्रीसहित गृह पाउनुपर्ने, उपप्रधानमन्त्रीसहित अन्य कुनै मन्त्रालय लिनुपर्ने, गृह लिनुपर्ने र आफू मन्त्री नभए आफूले भनेका तीनजनालाई मन्त्री बनाउनुपर्ने विकल्प उनले राखेका थिए । प्रचण्डले दोस्रो विकल्पअनुसार उनलाई सरकारमा पठाउन लागेका हुन् ।
एमालेसँगको सहमतिअनुसार एमाओवादी आठवटा मन्त्रालय लिने भएको छ । कोषाध्यक्ष हरिबोल गजुरेलले कृषि मन्त्रालय सम्हालिसकेका छन् । शुक्रबार अध्यक्ष प्रचण्डले थप चारजनाको नाम टुंग्याएपछि अब तीनजना चुन्नुपर्नेछ ।
यसअघि एमाओवादीले चारजना स्थायी समितिबाट र चारजना समावेशी सिद्धान्तका आधारमा मन्त्री चुन्ने निर्णय गरेको थियो । स्थायी समितिबाट पाँचजना मन्त्री चुनिएपछि समावेशी सिद्धान्तबाट चुनिनेको संख्या घट्ने भएको छ । मधेसी र महिलाबाट एक–एकजना र जनजाति तथा दलितबाट एकजना चुन्ने तयारीमा प्रचण्ड छन् ।
‘मधेसी र महिलाबाट जसरी पनि प्रतिनिधित्व हुन्छ,’ स्थायी समिति सदस्य बस्नेतले नयाँ पत्रिकासँग भने, ‘थारू, जनजाति, दलित पनि समेट्नैपर्ने बाध्यता छ ।’ मधेसीबाट शिवकुमार मण्डल वा उमेशकुमार यादव, महिलाबाट रेखा शर्मा, जनजातिबाट गणेशमान पुन, सन्तकुमार चौधरी, गौरीशंकर चौधरीमध्ये एकको सम्भावना छ । दलितबाट परेमा दलजित श्रीपाइलीको सम्भावना बढी रहेको स्रोतले बतायो ।








