कात्तिक २८, काठमाडौँ-
लामो समयको अन्योल पछी अन्ततः भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएको छ । यदि सम्झौता कार्यन्वयन भए तिन बर्ष पछी उक्त विमानस्थल बनिसकेर संचालनमा आउने भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणका लागि चीनको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कस्ट्रक्सन ग्रुपसँग रु छ अर्ब २२ करोड लागतमा सन् २०१७ को अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको हो ।
सम्झौतामा धावन मार्ग, ट्याक्सी मार्ग, जहाज तथा मोटर पार्किङ्स्थल, अन्तर्राष्ट्रिय टर्मिनल भवन कम्प्लेक्स्सहितको टावर निर्माण, कार्गो भवनको निर्माण र अग्नि नियन्त्रण भवनसहितको पूर्वाधार निर्माण गर्ने उल्लेख छ । ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र कार्य सम्पन्न गर्नुपर्ने भएको र निर्माण कम्पनीले प्रक्रिया अगाडि बढाएलगतै प्राधिकरणले रकम उपलब्ध गराएर निर्माण कार्यलाई सहज बनाउने प्राधिकरणका महानिर्देशक रतिश्चन्द्र लाल सुमनले जानकारी दिनुभयो ।
सम्झौतापत्रमा नेपालका तर्फबाट प्राधिकरणका महानिर्देशक सुमन र निर्माण कम्पनीका तर्फबाट कम्पनीका महाप्रबन्धक झाउ जुनले हस्ताक्षर गरेका थिए ।







